काठमाडौं– सर्वोच्च अदालतले माओवादी केन्द्रबाट सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय सदर गरेको छ।
न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको इजलासले निर्वाचनको अघिल्लो दिन यस्तो आदेश दिएको हो।
आयोगमा परेको उजुरीका आधारमा आफ्नो उम्मेदवारी खारेजी भएपछि रायले सर्वोच्चमा मंसिर १२ गते रिट दर्ता गरेका थिए। उक्त रिटमा पहिलो सुनुवाई गर्दै सर्वोच्चले बुधबार निर्वाचन आयोगलाई छलफलमा बोलाएको थियो। आयोगसँग छलफलपछि सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि राय उम्मेदवार हुन नपाउने भएका हुन्।
कूटनीतिक राहदानी दुरुपयोग गरेको आरोपमा विशेष अदालतबाट दोषी ठहर भएका रायको उम्मेदवारी निर्वाचन आयोगले मंसिर ११ गते खारेज गरेको थियो।
राय विरुद्ध सर्लाही क्षेत्र नम्बर ४ कै स्वतन्त्र उम्मेदवार गणेशकुमार सिंह र अर्का स्वतन्त्र उम्मेदवार अनिलकुमार सिंहले आयोगमा गत कात्तिक १९ गते उजुरी दिएका थिए।
प्रतिनिधिसभा निर्वाचन ऐनमा फौजदारी अभियोगमा दोषी भएको व्यक्तिलाई उम्मेदवार हुन रोक लगाइएको छ। सोही प्रावधान अनुसार आयोगले रायको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो।
त्यस विरुद्ध सर्वोच्च पुगेका रायले विशेष अदालतको फैसला स्वीकार नगरी सर्वोच्चमा पुनरावेदन गरेको अवस्थामा त्यसलाई नै अन्तिम व्याख्या गर्न नमिल्ने जिकिर गरेका थिए।
यादव पहिलो संविधानसभाका सदस्य थिए। सर्लाही–४ मा नेपाली कांग्रेसबाट अमरेशकुमार सिंह र राजपाबाट राकेश मिश्र उम्मेदवार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।