बाग्लुङ– पहिलो चरणमा निर्वाचन भएको बाग्लुङमा मतगणना गर्ने स्थानमा निर्वाचन कार्यालयले विशेष सुरक्षा प्रबन्ध मिलाएको छ।
मंसिर २१ गते साँझ ५ बजेदेखि मतगणना गर्ने तयारीसहित गणना स्थलमा सुरक्षा व्यवस्थाका लागि तारजाली र सिसी क्यामेरा राखिएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताए।
जिल्लाका प्रतिनिधिसभाका २ क्षेत्र र प्रदेशसभाका ४ क्षेत्रको जिल्ला समन्वय समिति बागलुङको सभाहलमा गणक तारजालीभित्र र दलका प्रतिनिधि बाहिर राखेर गणना गर्ने आवश्यक व्यवस्था मिलाइएको पण्डितले जानकारी दिए।
मतगणना स्थलमा ८ वटा सिसी क्यामेरा पनि जडान गरिएको छ। यसका साथै पहिलो घेरमा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई सुरक्षाको जिम्मा दिइएको छ।
मतगणना २ वटै निर्वाचन क्षेत्रको चार–चार स्थानमा गरी ८ स्थानमा प्रदेश र प्रतिनिधिसभाको सँगसँगै गरिने बताइएको छ। गणनाका लागि करिब १ सय २० जना कर्मचारी खटाइएको छ।
निर्वाचनमा बाग्लुङमा ६५ प्रतिशत मत खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।