काठमाडौं– सकारले ‘ज्ञान पलायन’ बढेको भन्दै त्यसलाई नेपालकै हितमा प्रयोग गर्न ‘ब्रेन गेन’ अभियान सुरु गरेको छ।
विशेषगरी गैरआवासीय नेपालीको सिप र क्षमतालाई केन्द्रमा राखेर उनीहरूको ज्ञानलाई नेपालको विकासमा प्रयोग गर्न यो अभियान सुरु गरिएको सरकारले बताएको छ।
परराष्ट्र मन्त्रालयमार्फत सञ्चालन हुने यो अभियानका लागि मन्त्रालयले एउटा ‘डाटाबेस सेन्टर’ समेत बनाएको छ। अभियानमामा आवद्ध हुन चाहाने जोकोही नेपाली र गैरआवासीय नेपालीले आफ्नो क्षमताबारे उक्त डाटाबेसमा सूचना भर्न सक्नेछन्।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले यो अभियानमा सहभागी हुन अपिल जारी गरेका छन्। मन्त्रालयमार्फत अपिल विदेशका विभिन्न ठाउँमा रहेका नेपाली कुटनीतिक नियोग र गैरआवासीय नेपाली संघहरूलाई पठाइएको छ।
सन् २०३० सम्म नेपालाई मध्यम आय भएको मुलुकमा रुपान्तरण गर्न ठूलो मात्रामा बाह्य र आन्तरिक श्रोत आवश्यक रहेको अपिलमा उल्लेख गरिएको छ।
बजारमा आएको विश्वव्यापीकरणले पछिल्लो दशकमा ‘ज्ञान पलायन’ बढेको भन्दै बाहिरिएका नेपालीको सिप, क्षमता यो अभियानमार्फत नेपालमै प्रयोग गरिने बताइएको छ।
‘...ज्ञानको बजारमा भएको द्रुत विश्वव्यापीकरण र शिक्षित नेपालीहरूको उच्च प्रतिष्पर्धी क्षमता जस्ता कारणले गर्दा नेपालको गएका केही दशकमा बढ्दो ज्ञान पलायन महसुस गरेको अवस्था छ,’ मन्त्री ज्ञवालीले जारी गरेको अपिलमा भनिएको छ, ‘यसले...मुलुकमा आवश्यक मानव पूँजीको परिपूर्तिमा कठिनाइ भइरहेको छ। त्यसैले विश्वका विभिन्न स्थानमा रहनु भएका नेपालीमा के–कस्ता क्षेत्रमा उच्च स्तरका सिप, क्षमताहरु छन् ... भन्ने कुराको यकिन गर्दै मुलुकलाई आवश्यक जनशक्तिको पहिचान गरि उपयुक्त क्षेत्रमा परिचालन गर्ने उदेश्यले नेपाल सरकार परराष्ट्र मन्त्रालयबाट ब्रेन ग्रेन सेन्टर (बिजीसी) नामक एउटा अभियानको सुरुवात भएको छ। यस अभियानको महत्पूर्ण पक्ष तपाईंहरूको मेहनत र उपलब्धि रक्षा गर्ने पनि हो।’
कसरी आवद्ध हुने अभियानमा?
अभियान सञ्चालनका लागि परराष्ट्र मन्त्रालयले एउटा डाटाबेस सञ्चालनमा ल्याएको छ। जसमा सहभागिहरुले आफ्नो विज्ञताको सम्बन्धमा इच्छा अनुसारको सूचना आद्यावधिक गर्न सक्नेछन्।
डाटाबेसमा आफूले सहज महसुस गर्ने सीप र क्षमता सम्बन्धी सूचना मात्रै प्रवेश गराउनुपर्ने छ। आफूले डाटाबेसमा प्रवेश गरेका सूचना समय अनुसार अद्यावधिक तथा फेरवदल समेत गर्न सकिने छ।
५ उदेश्य
सरकारले यो अभियान सञ्चालन गर्नुका ५ उदेश्य तोकेको छ। सरकारले राखेका ती ५ उदेश्यमा नेपालीको सिप तथा क्षमताको पहिचान, प्रवद्धन, सम्पर्क, परिचालन र पुरस्कृत गर्नु रहेको बताइएको छ।
पहिचानः प्रवासी विज्ञ नेपाली र उनीहरुको विज्ञताबारेको सूचना अद्यावधिक गर्दै उनीहरुले राष्ट्रका लागि गर्न चाहेको योगदानको पहिचान गर्ने।
प्रवर्द्धनः विज्ञ प्रवासी नेपालीले व्यक्तिगत र सामूहिक रुपमा गरेका कामलाई प्रकासमा ल्याउँदै उनीहरुको योगदानलाई सरकारी र गैरसरकारी नियकायबीच प्रवर्द्धन गराउने।
जोड्नुः मन्त्रालय, सरकारी निकाय र प्राज्ञिक तथा सामाजिक संस्थालाई प्रवासी नेपालीको विज्ञतासम्म पुर्याउन उत्साहित गर्ने, सम्पर्क र अवसर बढाउने।
परिचालनः प्रवासीको विज्ञता परिचालन गर्न पहल गर्ने र एकअर्काको नेपालप्रतिको योगदान चिनाउने र सबैलाई एक ठाउँमा ल्याउन सहयोग पुर्याउने।
पुरस्कारः प्रवासी नेपाली विज्ञले गरेका प्रभावकारी कामको आधिकारिक रुपमै पहिचान गरी नैतिक र सामाजिक समर्थन गर्ने र उनीहरूका लागि श्रोत छुट्याउने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।