काठमाडौं– प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डिआइजी)मा बढुवा भएका विश्वराज पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
आइतबार प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमका बीच पोखरेललाई डिआइजीको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। गत बिहीबार पोखरेललाई बढुवा समितिले डिआइजीका लागि सिफारिस गरेको थियो।
बढुवा सिफारिसपछि एक हप्तासम्म सिफारिसमा परेका व्यक्तिविरुद्ध उजुरी हाल्न पाउने व्यवस्था हुन्छ। तर, पोखरेल बढुवाका लागि सिफारिस भएकाेमा कसैको पनि उजुरी नपरेकाले आइतबार उनलाई डिआइजीको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।
उनलाई नेपाल प्रहरीकाे प्रवक्ताकाे समेत जिम्मेवारी दिइएकाे छ।
करिब ६ महिनाअघि काभ्रेमा भएको गाडी दुर्घटनामा डिआइजी सुशील भण्डारीको निधन भएपछि उक्त रिक्त ठाउँमा उनको बढुवा भएको हो।
बढुवा भएका पोखरेल व्यवसायिक छबी भएका प्रहरी अधिकृत हुन्। उनले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। त्यस्तै मोरङ प्रहरी प्रमुख तथा लागू औषध नियन्त्रण ब्युरोमा समेत पोखरेलले काम गरिसकेका छन्। (तस्बिर- भानु दाहालकाे फेसबुकबाट)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।