दाङ- मंसिर २१ गते हुन लागेको चुनावको मतगणना दुई दिनभित्र सक्ने गरी दाङमा तयारी थालिएको छ।
यसपटकका जिल्लाको सबै मतगणना घोराही उपमहानगरपालिका–१५ भरतपुरस्थित पद्मोदय पब्लिक नमूना माविमा गरिनेछ । विद्यालयमा रहेका तीन अलगअलग भवनमा मतगणना गरिने भएको छ । प्रत्येक भवनमा प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि अलगअलग तीन ठाउँमा गणनाको व्यवस्था गरिएको छ ।
मतगणनास्थलको व्यवस्थापनसँगै मतगणना हुने स्थानमा सुरक्षा प्रबन्ध, सिसी क्यामेरा जडान, वाइफाइलगायतको सम्पूर्ण तयारी थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । प्रतिनिधिसभाका तीनवटा र प्रदेशसभाका लागि छ वटा क्षेत्र रहेको दाङमा एक निर्वाचन क्षेत्रको तीन स्थानमा गणना गर्ने तयारी भइरहेको छ।
बिहीबार बेलुका सबै मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर त्यसै दिनको रातिबाट मतगणना थाल्ने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको हो ।
मतगणना शुरु भएको ४८ घण्टाअर्थात दुई दिनभित्र सबै परिणाम सार्वजनिक गर्ने गरी आफूले तयारी तीव्र पारेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।