विराटनगर– प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ। तर, मंगलबा नै मोरङ क्षेत्र नम्बर ६ का वाम गठबन्धनका उम्मेदवार एमाले नेता लालबाबु पण्डित विरुद्ध दुई वटा उजुरी परेका छन्।
मंगलबार बिहान करिब १४–१५ जनासहित विराटनगर ९ मा भोट माग्दै हिँडेको भन्दै लालबाबु विरुद्ध उजुरी परेको हो। नेपाली कांग्रेस मोरङ जिल्ला सचिव नागेश कोइरालाले क्षेत्रीय निर्वाचन कार्यालय समक्ष उजुरी गरेका हुन्। उनले वाम–गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार लालबाबुले आचारसंहिता विपरीत भोट माग्दै हिँडेको आरोप लगाए। तर, ु पण्डितका स्वकीय सचिव वासिम आलमले आफ्नो जन्मदिनको अवसरमा स्थानीय पशुपति भगतको घरमा चिया पिउन गएको भन्दै बचाउ गरेका छन्। निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेस हतास भएको भन्दै उनले आफ्ना उम्मेदवार विरुद्ध झुटो आरोप लगाएको बताए।
मंगलबार दिउँसो १ बजे विराटनगर बसपार्क नजिकैको एक पार्टी प्यालेसमा एमालेले सार्वजनिक रुपमा आचारसंहिता विपरित राजनीतिक सभा गरेको अर्को उजुरी पनि परेको थियो।
जसको मौखिक जवाफ दिँदै एमाले जिल्ला अध्यक्ष विनोद ढकालले उक्त कार्यक्रम चुनाव प्रचारप्रसार नभई पार्टी कार्यकता अभिमुखीकरण कार्यक्रम भएको जानकारी दिएका थिए।
यसैबीच, क्षेत्रीय निर्वाचन कार्यालयले नगरको सडकमा टाँसिएका विभिन्न दलका प्रचारप्रसारका सामग्री हटाएको छ। कार्यालयले महानगरपालिकाको वडा नम्बर ४ र ५ का सडक क्षेत्रबाट ती सामग्री हटाएको हो। मध्याह्न १२ बजेबाट कार्यालय आफैंले तदारुकताका साथ आचारसंहिता विपरीतका ती सामग्री हटाएको क्षेत्रीय निर्वाचन कार्यालय मोरङका प्रमुख प्रेमप्रसाद सञ्जेलद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।