सुर्खेत– भगवतीमाई गाउँपालिका–३ दैलेखकी ज्वाला रेग्मी मंगलबार बिहानै सुर्खेतबाट दैलेखतर्फ हिँडिन्। मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा बिबिएस अध्ययनरत रेग्मी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भोट हाल्न गृहजिल्ला हिंडेकी हुन्।
पहिलो पटक हुन लागेको यो निर्वाचनमा मतदान गर्न रेग्मी निकै उत्साहित देखिन्छिन्। ‘वर्षौपछि हुन लागेको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न गाउँ जान लागेकी हुँ’, उनले भनिन्।
भगवतीमाई–२ का १९ वर्षीय माधव शर्मा पनि भोट हाल्नकै लागि भनेर मंगलबार नै सुर्खेतबाट दैलेखतर्फ लागे। उनी पहिलो पटक मताधिकारको प्रयोग गर्दै छन्। शर्मा भन्छन् ‘पहिलो पटक मतदान गर्न जाँदै गर्दा निकै उत्साहित छु । त्यसमाथि आफूले रोजेको व्यक्तिलाई जिताउन मेरो एक मत पनि महत्वपूर्ण हुनसक्छ। त्यसैले गाउँ जाँदै छु।’
ज्वाला र माधव मात्रै होइन, उनीहरुसँगै करिब दुई सय नागरिक भोट हाल्नकै लागि मंगलबार बिहान चार वटा बस रिजर्भ गरेर सुर्खेतबाट दैलेख जाँदै थिए। व्यापार तथा अध्ययनका लागि सुर्खेतको वीरेन्द्रनगरमा बस्दै आएका दैलेखका नागरिक मंसिर २१ गते हुने निर्वाचनमा मतदान गर्न गाउँ फर्किएका हुन्।
यसरी बस रिजर्भ गरेर मतदानकै लागि गाउँ फर्किनेहरुमध्ये कतिपयका आफन्त नै उम्मेदवार छन् भने कतिपय आफ्नो गाउँ–ठाउँको विकास गर्न सक्ने योग्य व्यक्तिलाई जिताउन भनेरै भोट हाल्न जान लागेको बताउँदै थिए।
माधव भन्छन्, ‘प्रतिनिधि असल भएन भने गाउँको विकास पनि हुँदैन, त्यसैले राम्रो प्रतिनिधि छनोट गर्न पनि हामीले मतदान गर्नु जरुरी छ। तब मात्रै गाउँको विकास हुन्छ।’
निर्वाचन आउन दुई दिन मात्रै बाँकी रहँदा सुर्खेत स्थायी घर भई जिल्लादेखि बाहिर रहेका मतदाताहरु सुर्खेत फर्कंदै छन् भने सुर्खेतलाई कर्मथलो बनाएका अन्य जिल्लाका मतदाता पनि आफ्नो गृहजिल्लामा फर्कने क्रम जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।