नयाँ दिल्ली (एजेन्सी)- बलिउडका रोमान्टिक हिरो शशि कपूरको सोमबार ७९ वर्षको उमेरमा निधन भयो। ५८ वर्ष लामो उनको फिल्मी यात्रा निकै सानदार रह्यो।
शशिले आफ्नो जमानामा चर्चित अभिनेत्रीहरुसँग ठूलो पर्दामा निकै रोमान्स गरे। तर, वास्तविक जीवनमा उनको केवल एक महिलासँग प्रेम थियो। जीवनभर उनैलाई मनदेखि चाहे। ती महिला थिइन्, उनको पहिलो प्रेम अर्थात् उनकी पत्नी जेनिफर केन्डल।
जेनिफरसँग शशिको भेट सन् १९५६ मा कलकत्तामा भएको थियो। त्यो बेला उनी आफ्नो पिता पृथ्वीराज कपुरको थिएटर ग्रुप पृथ्वी थिएटरमा सहायक स्टेज व्यवस्थापक र कलाकारको रुपमा काम गर्थे। त्यस क्रममा कलकत्तामा विलियम शेक्सपियरको नाटक गर्ने ज्योफ्रे केन्डलको समूह पनि निकै सक्रिय थियो। ज्योफ्रेकी छोरी जेनिफर समूहकी मुख्य कलाकार थिइन्।
पहिलो भेटपछि नै शशि र जेनिफरबीच प्रेमको पालुवा मौलाउन थाल्यो। यसबाट जेनिफरको परिवार भने खुसी थिएन। तर, शशिका दाइ शम्मी कपुरकी पत्नी गीता बालीले उनको प्रेमलाई फलाउन-फुलाउन निकै सहयोग गरिन्। सन् १९५८ मा शशि र जेनिफरले विवाह गरे।
शशिले पत्नी जेनिफरसँग मर्चेन्ट आइवरी प्रोडक्शनका कैयौं फिल्ममा एकसाथ काम गरे। उनीहरुबाट तीन सन्तान कुणाल, करण र सञ्जना जन्मिए। समय क्रममा १९८४ मा क्यान्सरका कारण जेनिफरको मृत्यु भयो। त्यस घटनाले शशिलाई धक्का दियो। उनको मन पत्नीवियोगले नराम्ररी टुट्यो।

शशिको तौल तीव्र रुपमा बढ्न लागेको थियो। दूरदर्शन टिभीलाई दिएको एक अन्तर्वार्तामा उनलाई बढ्दो तौलबारे सोधिएको थियो। जवाफमा उनले बताए अनुसार, शरीर छरितो राख्न उनले २५ वर्षदेखि दिउँसोको खाना कहिल्यै खाएका थिएनन्, तर पत्नीको मृत्युपछि अब कसको लागि फिट रहनु भन्ने सोचेर अनियन्त्रित रुपमा खान थाले।
आम रुपमा बलिउडका स्टार व्यस्तताका कारण आफ्नो घरपरिवारलाई धेरै समय दिन सक्दैनन्। तर, शशि कपुर यस्ता कलाकार थिए, जसले परिवारलाई सधैं प्राथमिकता दिए। उनी बिदाको दिन आफ्ना बच्चालाई बिहान साढे ६ बजे नै चिडियाखाना लैजान्थे, ता कि ढिलो जाँदा भिडका कारण समय नष्ट नहोस्।
शशि आइतबारको दिन कहिल्यै काममा जाँदैनथे। आइतबार उनी पूरै दिन परिवारसँग बस्थे। कतिसम्म भने, उनी त्यो दिन साथीहरुलाई घरमा बोलाउँदैनथे। फिल्मको काम हुने अरु दिन राति घर फर्किन जतिसुकै ढिला भए उनी बिहान साढे ७ बजे परिवारसँग नास्ता खान्थे।
शशि कपुर र उनकी पत्नी जेनिफर दुवै फिल्मका प्रभावशाली कलाकार थिए। तर, उनीहरुका सन्तानले फिल्म क्षेत्रमा खासै केही गर्न सकेनन्। विदेशी लुक्स भएका कारण उनीहरुलाई बलिउड फिल्म उद्योगमा रुचाइएन। जेठो छोरा कुणाल कपुरले बलिउडका निर्देशक र निर्माता रमेश सिप्पीकी छोरीसँग विवाह गरेका छन्। कुणालको एडफिल्म- वलास नामको प्रोडक्सन कम्पनी निकै सफल छ।
छोरी सञ्जना थिएटरमा काम गर्छिन्। उनले भारतका वरिष्ठ वन्य जीव संरक्षक वाल्मिक थापरसँग विवाह गरेका छन्। कान्छा छोरा करण भने मोडलिङमा करिअर बनाउन लन्डनमा संघर्ष गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।