काठमाडौं– माओवादी केन्द्रबाट सर्लाही- ४ का उम्मेदवार शिवपूजन राय यादवले आफ्नो उम्मेदवारी खारेजी विरुद्ध हालेको मुद्दाबारे मतदानको अघिल्लो दिन मात्र निर्णय हुने भएको छ।
कूटनीतिक राहदानी दुरुपयोग गरेको आरोपमा विशेष अदालतबाट दोषी ठहर भएका यादवको उम्मेदवारी निर्वाचन आयोगले मंसिर ११ गते खारेज गरेको थियो।
यादव विरुद्ध सर्लाही क्षेत्र नम्बर ४ कै स्वतन्त्र उम्मेदवार गणेशकुमार सिंहले जिल्लामा र अर्का स्वतन्त्र उम्मेदवार अनिलकुमार सिंहले निर्वाचन आयोगमै गत कात्तिक १९ गते उजुरी दिएका थिए। सुनुवाइ नभएपछि उनीहरु सर्वोच्चमा पुगेका थिए। तर, सर्वोच्चलाई आयोगले जवाफ पठाउनुअघि नै उनको उम्मेदवारी खारेज भएको थियो।
आयोगको निर्णयलाई चुनौती दिँदै मंसिर १२ गते सर्वोच्च अदालत पुगेका यादवको रिटमा पहिलो सुनुवाई गर्दै अदालतले निर्वाचन आयोगसँग छलफलपछि निर्णय गर्ने आदेश दिएको थियो। सर्वोच्चको यस्तो आदेशपछि यादवको उम्मेदवारी अन्योलमा परेको छ।
बुधबारको सुनुवाइमा सर्वोच्चले अन्तरिम आदेश जारी गरे मात्र उनले निर्वाचनमा भाग लिन पाउनेछन्।
सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा निर्वाचनमा भाग लिन पाउने आस राख्दै यादव अदालत गएका हुन्। तर, रायको माग अनुसार आदेश जारी गर्न आयोगसँग छलफल गर्नुपर्ने भन्दै सर्वोच्चले मंगलबार कारण देखाऊ आदेश मात्र जारी गरेको छ । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले दुवै पक्षको छलफलपछि मात्र निर्णय गर्ने भन्दै आयोगलाई बोलाएको हो।
आयोगले यादवमाथि कूटनीतिक राहदानी दुरुपयोगको आरोपमा विशेष अदालतबाट दोषी ठहर भएको उजुरी परेपछि उनको उम्मेदवारी खारेज गरेको थियो। त्यस विरुद्ध सर्वोच्च पुगेका उनले संविधान र प्रतिनिधिसभा सम्बन्धी कानुनमा अन्तिम अदालतबाट फौजदारी नैतिक पतनको कसुरमा दोषी ठहर भए मात्र उम्मेवार हुन नपाउने व्यवस्था भए पनि त्यसको गलत व्याख्या गर्दै आयोगले यस्तो निर्णय गरेको जिकिर गरेका छन्।
विशेष अदालतको फैसला स्वीकार नगरी सर्वोच्चमा पुनरावेदन गरेको अवस्थामा त्यसलाई नै अन्तिम व्याख्या गर्न नमिल्ने यादवको भनाइ छ। यादवको रिट न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासमा पेशी तोकिएको छ।
यादव पहिलो संविधानसभाका सदस्य थिए। सर्लाही–४ मा कांग्रेसबाट अमरेशकुमार सिंह र राजपाबाट राकेश मिश्रले उम्मेदवारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।