लहान- सप्तरीको बलान बिहुल गाउँपालिकास्थित बिहुल नदीको किनारामा अज्ञात समूहले गए राति एक उम्मेदवारमाथि छुरा प्रहार गरेको छ।
उक्त गाउँपालिकाको कमलदाहाबाट घरदैलो सकेर फर्किने क्रममा राति करिब १० बजेतिर नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट सप्तरी क्षेत्र नम्बर ४ (ख)का प्रदेशसभा उम्मेदवार बनेका मो सहमुद अलीमाथि छुरा प्रहार भएको हो।
टाउको र हातमा काटिएका छुरा प्रहारबाट उम्मेदवार अलीको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घरदैलो कार्यक्रमपछि मोटरसाइकलबाट घर फर्किने क्रममा पछाडिबाट दुई वटा मोटरसाइकलमा आएका तीन जनाको समूहले मोटरसाइकल रोक्न लगाएर आफूमाथि छुरा प्रहार गरेको उम्मेदवार अलीले बताए।
'उक्त समूहले अचानक पछाडिबाट छुरा प्रहार गरेपछि मोटरसाइकलबाट लड्दा पनि थप आक्रमण गर्यो, उम्मेदवार अलीले भने– 'त्यसपछि आफूसँगै मोटरसाइकलमा पछाडी सवार आफ्ना सहयोगी केही पर भागेर गुहारगुहार माग्दै प्रहरीलाई खबर गरेपछि उनीहरू भागेका थिए।' रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।