नेपालगञ्ज- बिहीबार हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी प्रदेश ५ मा सुरक्षा व्यवस्था कडा बनाइएको छ।
मतदाताहरुलई प्रभावित पार्न विभिन्न किसिमका डरधम्की देखाउने, साना हतियार तथा विस्फोटक पदार्थ ओसारपसार गर्ने व्यक्ति तथा समूहमाथि कडा निगरानी थालिएको हो।
दोस्रो चरणको निर्वाचनमा शान्ति सुरक्षामा खलल पुर्याउन खोज्ने १ सय ३८ जनालाई हालसम्म पक्राउ गरिएको छ भने १ सय २५ माथि मुद्दा चलाइएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरी र म्यादी प्रहरी गरी करिब २४ हजार प्रहरी परिचालन गरिएको मल्लले बताए। सशस्त्र प्रहरी र नेपाली सेना पनि परिचालन भएका छन्।
भारतसँग जोडिएका सीमा नाकाहरुलाई १८ गते राति १२ बजेदेखि मतदान सम्पन्न नहुँदासम्म शिल गरी आवागमनमा रोक लगाइएको छ। त्यसैगरी सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीहरुको गस्ती पेट्रोलिङलाई बढाउनुका साथै आकस्मिक चेकप्वाइन्ट खडा चेकजाँच सुरु गरिएको छ।
मादक पदार्थ ओसारपसार र बिक्रीवितरणमा रोक लगाउनुका साथै मतदान स्थलहरुमा आजैदेखि सुरक्षाकर्मी परिचालन गरिएको प्रवक्ता मल्लले बताए।
निर्वाचन विरोधी कार्य गर्ने व्यक्ति तथा समूहको गतिविधि नियन्त्रण गर्न सवारीसाधन, होटल, लज, कारखाना, डेरा तथा अन्य संवेदनशील स्थानमा समेत प्रहरीले खानतलासीलाई तीव्र बनाएको छ।
५ नम्बर प्रदेश अन्तर्गतका बाँके, बर्दिया, दाङ, प्युठान, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, रुपन्देही र पश्चिम नवलपरासी गरी १० जिल्लाका १ हजार ५ सय १ मतदानस्थल तथा ३ हजार १ सय ६६ मतदान केन्द्रमा २१ गते मतदान हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।