दाङ- सुरक्षा निकायका प्रमुखहरुले मंसिर २१ गते हुने निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन दाङका सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन्।
नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सोमबार दाङमा आई जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई भरपर्दो सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिए।
निर्वाचन बिथोल्ने आपराधिक गतिविधि जारी रहँदा सुरक्षा निकायका प्रमुख आएर सुरक्षा अवस्थाका बारेमा जानकारी लिएका हुन्। नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीपकुमार रेग्मीसहित सुरक्षा निकायका प्रमुख दाङ आइपुगेका थिए।
केही दिनपहिले प्रधानमन्त्री शेरबहादुर देउवा दाङ आएको बेला भएको बम विस्फोट र उम्मेदवारलाई लक्षित गरी भइरहेका विस्फोटका घटनाका बारेमा बुझ्दै सुरक्षा निकायका प्रमुखले आवश्यक सुरक्षा सतर्कता बढाउन निर्देशन दिए।
जिल्लामा चुनावलाई सुरक्षित बनाउन चार हजार एक सयभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।