काठमाडौं- दोस्रो चरणअन्तर्गत मंसिर २१ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुँदैछ। निर्वाचन आचारसंहिता अनुसार गएराति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको छ। तर यो मौन अवधिभर चुनावी प्रचारप्रसार गरेको पाइएमा उम्मेदवारको उम्मेदवारी रद्दसम्मको कारबाही हुने निर्वाचन आयोगले चेतावनी दिएको छ।
मौन अवधि उल्लंघन गर्ने सञ्चारमाध्यम र अन्यलाई भने एक लाखसम्म जरीवाना हुनेसमेत आयोगका प्रवक्ता नवराज ढकालले बताए।
मौन अवधि पालना गर्नु सबैको नैतिक दायित्व भएको भन्दै उनले थपे, ‘सबैले आचारसंहिता पालना गर्नैपर्छ। अनुगमन वा आयोगमा उजुरी उल्लंघनको उजुरी परेको खण्डमा कडा कारबाही हुन्छ।’ आयोगले सञ्चारमाध्यमको पनि अनुगमन गरिरहेको ढकालले बताए।
दोस्रो चरणमा ४५ जिल्लामा बिहीबार मतदान हुँदैछ।
मौन अवधिमा केके गर्ने पाइँदैन?
- निर्वाचन आचारसंहिताको मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइँदैन
- मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्छ
- सामाजिक सञ्जाल (एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम) मार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न हुँदैन
- उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।