सिबरघान- अफगानिस्तानको उत्तरी प्रान्त जजानमा सुरक्षाफौज र तालिबानबीचको पछिल्लो भिडन्तमा ७ सुरक्षाकर्मी र ३४ जना तालिबान लडाकुको ज्यान गएको छ।
प्रान्तीय सरकारका प्रवक्ता फ्राइदुन अनिखका अनुसार तालिबान समूहले अक्चा जिल्लाको एक सुरक्षापोष्टमा आक्रमण गरेका थिए। तर, सुरक्षाफौजको कारबाहीमा २७ जना तालिबान लडाकू मारिएका र अरु २० जना घाइते भएको पनि अनिखले जानकारी दिए।
उनले मारिएका तालिबानीमध्ये एक जना जजानमा तालिबान समूहका छायाँ उप–गभर्नर खैरउल्लाह पनि रहेको पनि दाबी गरे।
छिमेकी क्वुस टेपा जिल्लामा ७ जना तालिबानीको मृत्यु भएको छ भने अरु ११ जना घाइते भएका छन्। दुई दिनदेखि जारी भिडन्तका क्रममा ७ जना सुरक्षाकर्मीको ज्यान गएको पनि प्रवक्ता अनिखले बताए।
अफगानिस्तानका मुख्य सहरी इलाका र ३४ वटै प्रान्तीय राजधानीहरु सरकारी फौजको नियन्त्रणमा रहे पनि अधिकांश भू-भागमा तालिबानी समूहको कब्जा रहेको छ। अमेरिकी प्रतिनिधिसँग कतारमा प्रत्यक्ष वार्ता गरिरहेको तालिबान समूहले गत अप्रिलदेखि देशैभर व्यापक कारबाही गरिरहेको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।