काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चर्चित अमेरिकी म्यागेजिन 'टाइम'को आवरण पृष्ठमा फिचर भएका छन्।
टाइम म्यागेजिनले सन् २०१९ मे २० तारिखको अन्तर्राष्ट्रिय संस्करणका लागि मोदीलाई विवादास्पद शीर्षक दिएर छापेको छ- 'इन्डियाज डिभाइडर इन चिफ'।
‘विश्वकै ठूलो प्रजातन्त्रले अर्को पाँच वर्ष मोदी सरकार झेल्न सक्ला?’ प्रश्न गर्दै लेखिएको आवरण लेखमा पत्रकार अतिश तशीरले विश्व प्रजातन्त्रमा लोकप्रियतावाद बढेको उल्लेख गर्दै मोदी सरकारलाई टर्की,ब्राजिल, ब्रिटेन र अमेरिकी शासकसँग तुलना गरेका छन्।
मोदी प्रधानमन्त्री कालमा भारतीय राज्यको आधारभूत चरित्रमाथि नै प्रहार गरिएको उल्लेख छ।
‘महान प्रजातन्त्रको लोकप्रियतावादतिरको पतनमा भारत पहिलो थियो। राष्ट्रको सबैभन्दा आधारभुत मूल्य जस्तो भारतीय राज्यको चरित्र, यसका संस्थापक पिता, विश्वविद्यालयदेखि लिएर कर्पोरेट घराना, मिडियासम्म अथवा अल्पसंख्यक र उसका संस्थानमाथि गम्भीर रूपमा अविश्वासित देखिएको छ,’ लेखमा भनिएको छ।
मोदी शासनकालमा अल्पसंख्यक, उदारवादी, मुस्लिम, इसाई तथा कथित तल्लो जातिमाथि आक्रमण भएको समेत उल्लेख गरिएको छ। ‘मोदी सरकारअन्तर्गत अल्पसंख्यकका हरेक तह उदारवादीदेखि तल्लो जातका मुस्लिम र इसाई समुदायमाथि आक्रमण गरिएको छ,’ म्यागेजिनमा उल्लेख छ।
मोदीले सन् २०१४ मा गरेका आर्थिक प्रतिबद्धतासमेत पुरा गर्न नसकेको उल्लेख गर्दै म्यागेजिनमा लेखिएको छ, ‘मोदीको आर्थिक जादू व्यवहारमा कार्यन्वयन असफल भएको मात्रै होइन उनले भारतमा विषालु धार्मिक राष्ट्रवादको वातावरण सिर्जना गर्न पनि सघाएका छन्।’
‘मोदीलाई हराउ’ बाहेक अरु कुनै एजेन्डा नभएको कमजोर प्रतिपक्षी दल कंग्रेस पर्नु पनि उनका लागि सौभाग्य रहेको म्यागेजिनमा दाबी गरिएकाे छ।
यसअघि प्रधानमन्त्री भएपछि सन् २०१५ को टाइम म्यागेजिनको कभरमा पनि मोदी फिचर भएका थिए। त्यो कभरमा उनीसँग लिइएको अन्तर्वार्तासमेत समावेस थियो।
गुजराजतको मुख्यमन्त्री हुँदा सन् २०१२ मा पनि मोदी टाइम म्यागेजिनको कभरमा फिचर भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।