सोल - दक्षिण कोरियाको राजधानी सोलमा सोमबार अमेरिकासँग संयुक्त हवाई सैन्य अभ्यास सुरु भएको छ । सैन्य अभ्यासलाई अहिलेसम्मकै सबैभन्दा ठूलो अभ्यास भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सैन्य अभ्यास कोरियाली प्रायद्वीपमा शान्ति कायम गर्न र अस्थिरता अन्त्य गरी दक्षिण कोरिया र अमेरिकाको सम्बन्ध सुदृढ पार्न गरिएको बताइएको छ ।
उत्तर कोरियाले हवाई सैन्य अभ्यासको कडा विरोध गरेको छ । उसले यसलाई आफूविरुद्ध उत्तेजना फैलाउने कारबाही बताएको छ ।
अभ्यासमा अमेरिका र दक्षिण कोरियाका करिब २ सय ३० वटा लडाकु जहाज प्रयोग गरिएको छ । यसलाई स्थलबाट पनि अनुगमन गरिएको छ । हजारौँ स्थल सैनिक पनि तम्तयार अवस्थामा राखिएको छ ।
अभ्यासमा दसौँ हजारको संख्यामा दक्षिण कोरियाली सेना पनि अभ्यासमा सहभागी छ ।
उत्तर कोरियाले जारी राखेको आणविक परीक्षणका कारण उत्तर कोरिया र दक्षिण कोरियाबीच तनाव बढीरहेका बेला सोमबार सैनिक अभ्यास सुरु भएको हो ।
केही दिनअघि मात्र उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली मिसाइल परीक्षण गरेको थियो । मिसाइल परीक्षणविरुद्ध दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास सुुरु गरेको बताइएको छ ।
अभ्यासमा शक्तिशाली लडाकु जहाज सामेल छन् । ती जहाज दक्षिण कोरियाली आकास र उत्तर कोरियाको सीमा क्षेत्रमा पनि उडेका छन् ।
उत्तर कोरियाले गत महिना पनि सामुद्रिक क्षेत्रबाट मिसाइल परीक्षण गरेकोे थियो । यसअघि उत्तर कोरियाले हानेको एउटा मिसाइल जापानको समुद्रमा खसेको थियो ।
दुई कोरियाबीचको सम्बन्ध पछिल्लो समयमा निकै चिसिएको छ । उत्तर कोरियाली परीक्षणविरुद्ध दक्षिण कोरियामा केही महिनाअघि मात्र मिसाइल प्रतिरक्षा प्रणाली जडान गरिएको अमेरिकाले जनाएको थियो ।
उत्तर कोरियाले मिराइल प्रतिरक्षा प्रणाली जडानको निकै कडा शब्दमा विरोध गरेको छ । उत्तरले त्यस्तो प्रणाली दक्षिण कोरिया र अमेरिका मिलेर जडान गरेकोले आपूmले त्यसविरुद्ध कारबाही गर्ने चेतावनी दिएको थियो ।
उत्तर कोरियाले जारी राखेको पछिल्लो आणविक परीक्षणको शृंखला अझै रोकिएको छैन । परीक्षणका कारण पछिल्ला दिनहरुमा संयुक्त राष्ट्र संघ, अमेरिका र दक्षिण कोरियासहित जापान पनि झस्केका छन् ।
उत्तरले भने यस संयुक्त सैन्य अभ्यासले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको भन्दै अभ्यास रोक्न भनेको छ । उत्तरले यसलाई सार्वभौमसत्तामाथिको हमलाको रुपमा लिएको जनाएको छ ।
सैन्य अभ्यास बन्द नगरे आफू पनि त्यसको जवाफ फर्काउन बाध्य हुनुपर्ने चेतावनी उसले दिएको छ ।
सैन्य अभ्यासमा दक्षिण कोरिया–अमेरिकाको सेनाले उत्तर कोरियाको जल, स्थल वा आकासमा छुनेमात्र प्रयास ग¥यो भने पनि आफूले नसहने र त्यसको प्रतिकारात्मक कारबाही गर्ने उसले चेतावनी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।