काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको चुनावी गठबन्धन लोकतान्त्रिक नभएर दक्षिणपन्थी भएको आरोप लगाएका छन्। काठमाडौं क्षेत्र नम्बर ५ को चुनावी सभालाई बसुन्धरामा सम्बोधन गर्दै अध्यक्ष ओलीले केही पत्रकारले सिउर हालेर कांग्रेसलाई लोकतान्त्रिक गठबन्धन बनाएको दाबी गरे।
‘केही पत्रकारले कांग्रेसलाई सिउर लगाइदिएर लोकतान्त्रिक गठबन्धन भन्ने गरेका छन्,’ ओलीले प्रश्न गरे, ‘पत्रकारले सिउर हाल्दैमा दक्षिणपन्थी गठबन्धन लोकतान्त्रिक गठबन्धन हुन्छ?’
वामपन्थी गठबन्धन देखेर कांग्रेस आत्तिएको टिप्पणी गर्दै अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको गठबन्धनलाई जित्न आफ्नो पार्टी एक्लै काफी हुने बताए। ‘कांग्रेस नेतृत्वको दक्षिणपन्थी गठबन्धनलाई जित्न एमाले एक्लै काफी थियो। अब त एमाले र माओवादी केन्द्र एक भएका छन्।’
सक्षम नेतृत्वलाई देश चलाउने जिम्मा दिनुपर्ने बताउँदै ओलीले आफ्नो गठबन्धनका उम्मेदवारलाई जिताउन मतदातसँग अपिल गरे। ‘उहाँहरुले योजना पेश गर्नुहुनेछ। बजेटमा कुनै समस्या हुँदैन। विकासका लागि बजेटको कमी हुनेछैन। त्यसको जिम्मा म लिन्छु।’ काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष उम्मेद्वारमा पार्टी महासचिव ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।