काठमाडौं- सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा गत मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रयोग भएका असंसदीय शब्दहरुलाई संसदको रेकर्डबाट हटाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि जवाफ दिने क्रममा बोलेको ‘निम्छरो’ लगायतका शब्द संसदको रेकर्डबाट हटाइएको हो।
शुक्रबारको संसद बैठक सुरु हुनासाथ सभामुख कृष्णबहादुर महराले नीति तथा कार्यक्रममा बोलिएको असंसदीय शब्दप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका थिए। उनले भने, ‘प्रधानमन्त्रीज्युले स्पष्टीकरण तथा माननीय सदस्यहरुको जिज्ञासाको उत्तर दिने क्रममा प्रयोग भएका संसदीय मर्यादा अनुकूल नभएका शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु।'
नीति तथा कार्यक्रममा नेपाली कांग्रेसका सांसदहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले ‘प्रश्न र जिज्ञासाका लागि धन्यवाद। आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिका वास्ता नगरेर प्रश्नहरुको उत्तर दिन्छु' भनेका थिए।
प्रधानमन्त्रीले प्रयोग गरेका शब्दहरुमा आपत्ति जनाउँदै ती शब्द तत्काल हटाउन कांग्रेस सांसदहरुले माग गरेका थिए । कांग्रेस सांसदहरुको विरोधका बाबजुत नीति तथा कार्यक्रम पारित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।