नोभेम्बरको कुनै चिसो रात । सुस्त-सुस्त सुत्ने तयारीमा थिए, काठमान्डुका गल्लीहरू । मान्छेहरूको ओहोरदोहोर बिलाएको थियो । गाडीहरूको चिच्याहट सेलाएको थियो । आवाजको नाममा बस् केही कुकुरहरूको चर्को भुकाइ मात्र हुँदो हो । होइन भने सहर बिल्कुल मरेको आभास हुन्थ्यो।
थिएन त्यहाँ कुनै हतास या दौडधुपको धपेडी । न त थियो साँझ बिहान हातमुख जोड्ने कसरत नै । थियो त केवल एक अर्ध-मृत शून्यता । म तिनै शून्य गल्लीहरूको सफरमा थिएँ, सधैं झैं त्यो रात पनि।
किन-किन सहरको नाइट भ्यु हेर्न मलाई निकै मज्जा लाग्छ । झिलिमिली चम्किरहेको सुपरमार्केट होस् या बत्ती गएर अँध्यारिएका साँघुरा गल्लीहरू । मेरो मन लोभ्याउन बस् यी पनि काफी छन् । अझ कोठा-कोठामा तात्तिरहेका ओछ्यानहरू लुकाउनमा व्यस्त पर्दाहरू, अनि त्यतै कतै मसिना प्वाल हुँदै सुन्निरहेका लोग्ने-स्वास्नीका कलहहरू।
बस् यति भए त सफर यसै चाखलाग्दो भैगो नि!
अझ बोनसमा न त धूलो उड्ला कि भन्ने डर, न त कुनाकाप्चा लुकिलुकी धूवाँ उडाउनुपर्ने कहर । त्यसैले पनि होला सायद मलाई मर्निङ या इभिनिङ वाकले कहिल्यै आकर्षण गरेनन् । मेरो अल्लारे मस्तिष्कमा सधैं एउटै कुरो गुम्सिरह्यो- 'उज्यालोमा त अक्सर बनावटी भेटिन्छ, असलीमा त सहर रातमा देखिन्छ ।'
भित्तेघडीका मोटा सुईहरू सायद त्यो बेला दस या एघारको आसपासतिर हुँदा हुन् । तर, चिसो कुहिरोले भने बिस्तारै छोपिने क्रममा थिए राजधानीका झुपडीहरू । अनि तिनै झुपडपट्टी भएर सुस्त-सुस्त छिप्पिँदै थियो त्यो कामुक रात ।
लिखुरे ट्राउजर । टाइट पाइन्ट । स्पाइडर पन्जा । स्पोर्ट्स जुत्ता । गलामा ऊनीको बाक्लो मफलर । अनि टाउकोमा चमक-धमक रेशमको टोपी । त्यसमाथि ग्वाम्म स्विटरमा जम्बो ज्याकेटले कोच्चिएर म पूरै ज्याङ्गो देखिन्थेँ।
मेरो पहिरन हेरेर धेरैलाई लाग्न सक्थ्यो, म काठमान्डु सहरमा होइन, सगरमाथाको आधार शिविरमा सयर गर्दै छु । तर, खुसीको कुरो, त्यो बेला त्यहाँ अरु कोही थिएन, जो मेरो भेष हेर्दै खिसी गर्न सकोस् । यही त हो मित्र, रातको मज्जा!
म हिँडिरहेको सडक धोबीघाट हुँदै पुल्चोकसम्म लमतन्न पसारिएको थियो । गाडी-मोटर र दुनियाँथरीले दिनभरि कुल्चेर थाकेको उसको शरीर भर्खरै बिसाएको हुँदो हो सायद ।
मस्त निद्रामा थियो बिचरा ! मैले बेकारमा उसको निद्रा सखाप पार्न चाहिनँ । त्यसैले बरु अलि सुस्तरी नै हिँड्ने कोसिस गर्न थालेँ । फेरि हतार-हतारमा पुग्नु पनि त कहाँ थियो र!
हिँड्न थालेको करिब आधाउधी घन्टा जति भएको हुँदो हो, मिर्गौलाबाट थैली हुँदै खुबै च्यापिएर आयो । जाडो महिना, यस्तै त हो । कतिबेला च्याप्छ थाहै नहुने ! दिउँसो भए त अलि वित्यास्सै पर्दो हो, तर मेरो साथ, रात थियो । अब रातमा पनि तुर्क्याउनलाई के-को लगनगाँठो । बस् ! फटाफट चेन उघार्यो, तान्यो अनि तुर्र तुर्क्याइदियो, भै त हाल्थ्यो । तर, किन-किन त्यो रात मलाई भलाद्मी बन्नै मन लागेन।
यसो म पनि त्यो रातको मादकतामा मात्तिदिम् न त भन्ने पक्षमा म गइसकेको थिएँ । त्यसैले म एउटा यस्तो लोकेसनको खोजीमा थिएँ, जहाँ मेरो अमूल्य युरिक एसिडको उचित सम्मान होस् । भ्यालु होस् । कदर होस्।
तपाईंलाई मेरो नौटंकीमा हाँसो उठ्न सक्छ, तर यसमा मेरो भन्नु केही छैन । किनकि त्यहाँ दोष मेरो होइन, समयकै थियो । अझ भनूँ, रात नै दोषी हुँदै थियो । अब रातै त्यसरी नशालु भइदिएपछि म के नै पो गर्न सक्थेँ र!
केहीबेरको लामो सर्चिङपछि बल्ल एउटा उपयुक्त ठाउँ जुर्यो, सेन्ट मेरिज कलेजको बडेमानको पर्खाल । बाटो चौडा पार्न पहिलेका जति सबै भित्ता भत्काइएकाले नयाँ पर्खालहरू भर्खर-भर्खरै ठड्याइएका रै'छन्।
कस्तो अचम्म ! ऊ भने बिल्कुल सामान्य भावमा थिई । उसका गाढा कुइरा आँखा सुरुदेखि नै स्थिर भइरहे । बस् घरिघरि छाती फुलेको देखिन्थ्यो, होइन भने ऊ पूरै मौन थिई । उसको चीर मौनताले मलाई भने बिस्तारै डस्दै थियो।
अचम्मै सुन्दर थिए नाथे भित्ताहरू पनि । भित्ताको सुन्दरताका खातिर मैले मन थाम्नै सकिनँ । भित्रभित्रै झन्-झन् च्यापेको जस्तो महसुस हुन थाल्यो । उसै पनि बिहान-बेलुका राम्ररी पानी निचोरेर बिचरा सुख्खै भएका रै'छन् । त्यसैले मेरो आन्तरिक सिँचाइले केही भए पनि मद्दत पुगोस् भन्ने अभिप्रायले फटाफट चेन खोल्न थालिहालेँ । एकाएक बल्खु हुँदै आइरहेको एक मुठी चिसो बतास खुला चेनबाट शरीरभरि सञ्चार हुन पुग्यो।
खुबै मजा आउँदै थियो । यसै पनि युरिन विसर्जनमा आनन्दै हुने, झन् उसमाथि म त एक छात्रा स्कुलको भित्तामा उन्मुक्त तुर्क्याउँदै थिएँ । अझ त्यो पनि सिसी क्यामेराकै सामुन्ने ! किनकि मलाई राम्ररी थाहा थियो, अँध्यारोमा जस्तोसुकै माइकालाल क्यामेराले पनि केही भ्याउनेवाला छैन । त्यसैले पनि म खुबै मुडमा आउँदै थिएँ।
थोरै भए पनि भित्ताहरूलाई सिञ्चित पार्न सकेकोमा मलाई निकै गौरव थियो । खुसी-खुसीमा पाइन्टको चेन लगाउँदै थिए, एक्कासी कतै टाढाबाट मन्द-मन्द साइकलको घन्टी बजेको भान भयो । यताउति हेरेँ, पूरै अँध्यारो । कहीँ कतै स्पस्ट देखिन्नथ्यो । म अलमलमा परेँ।
को हुन सक्छ यो मध्य रातमा?
अलि-अलि डर पनि लाग्दै थियो । भन्नलाई भूत-प्रेतमा पटक्कै विश्वास राख्दिनँ भने पनि आफैंलाई आइपर्दा अलि गाह्रै हुँदो रै'छ । फेरि हिजै मात्र एक जना पाका मित्रले खुबै सुरिएर सुनाएका थिए- 'सर, यो जेभिएर र सेन्ट मेरिज बीचको कच्ची बाटो छ नि, त्यहाँ त तपाईंको चैं उहिले-उहिले डरलाग्दा चुडैल हुन्थे रे नि त ! उल्टा खुट्टा गरेका चुडैल मोरीहरू सेता साडीमा निकै राम्रा पो देखिन्थे रे ! मेरै बाजेले त कतिपल्ट केटी भन्ठानेर डेटिङ गर्न भ्याका रे । आम्मा कसम!'
उतिबेला त बूढालाई नचाहिने कुरो गर्ने भनेर बेस्कन हकारियो । तर, आफैंलाई आइपरेपछि बूढाले ठीकै भनेछन् कि जस्तो पनि लाग्न थाल्यो।
एक मन त लाग्यो- 'कतै सेन्ट मेरिजकै गार्ड त होइन ? ला ! भए त बर्बादै पो हुन्छ त । तर, होइन होला, यति रातिसम्म गार्ड के बसिरन्छ!'
बरु लाग्यो- 'कोही म जस्तै रातमा हिँड्न मन गर्ने पागल पनि त हुन सक्छ । बेकारमा डराएर यार!'
यस्तै बकम्फुसे तर्कनाहरूमा घोत्लिँदै थिएँ म, साइकल अझ केही नजिकै आए झैं लाग्यो । टायर देखियो । ह्यान्डल देखियो । ह्यान्डल समाएर साइकल डोर्याइरहेको एउटा मनुष्य पनि देखियो । बस् ! अब एउटै कुरोले घोच्दै थियो, त्यो मनुष्य स्त्रीलिङ्गी थियो या पुरुषलिङ्गी?
जवाफ स्वयं उसका पुष्ट छातीहरूले नै दिए । अग्ला होचा उसका खोंचहरूमा घोत्लिएर हेर्दै गर्दा, मेरो मन एकाएक चिस्सिएर आयो । कतै ऊ चुडैल त होइन ?
होइन होला । चुडैल पनि कहीँ साइकल डोर्या उँदै आउँछन्, बुद्धू!
म आफूलाई सक्दो सम्हाल्न खोज्दै थिएँ।
उसका खुट्टातिर नियालेँ । लेडिज कन्भर्सभित्र लुकिरहेका उसका पैताला सुल्टै जस्तो लाग्यो । बल्ल केही ढुक्क महसुस भयो।
उसलाई नियाल्ने क्रम अझै जारी थियो । किन-किन मेरो नजर ऊ भन्दा अन्यत्र मोडिन मानेकै थिएन । पिठ्यूँमा भायोलिन पनि बोकेकी रै'छे । खुबै सुहाएको थियो भायोलिन, उसको बलिष्ठ शरीरमा । लाग्यो, केटी त डाइहार्ट म्युजिक लभर पो रै'छे त ! होइन भने रातबिरात भायोलिन बोकेर को मूर्ख घुम्ला यो सहरमा!
हेर्दाहेर्दै ऊ त मेरो निकै नजिक आइसकिछ । यति नजिक कि म उसको तातो सास सजिलै महसुस गर्न सक्थेँ । मलाई अप्ठ्यारो महसुस हुँदै थियो । केटी भनेपछि उसै त डराउने मान्छे, झन् यति नजिकै आइदिएपछि मेरो के लागोस्?
सोचेँ, 'म अब बाच्दिनँ । यो रात मेरो अन्तिम रात रै'छ।'
मस्तिष्क रित्तो हुँदै थियो, हृदय ठन्डा-ठन्डा कूल-कूल।
तर, कस्तो अचम्म ! ऊ भने बिल्कुल सामान्य भावमा थिई । उसका गाढा कुइरा आँखा सुरुदेखि नै स्थिर भइरहे । बस् घरिघरि छाती फुलेको देखिन्थ्यो, होइन भने ऊ पूरै मौन थिई । उसको चीर मौनताले मलाई भने बिस्तारै डस्दै थियो।
केही मिनेटको असहज मौनतालाई चिर्दै, खुबै च्याट्ठिएर बोली- 'ओइ हेल्लो महाशय ! राति-राति अर्काको स्कुलको पर्खालमा खुबै मच्चीमच्ची तुर्क्याउँदै हिँड्या छौ त, हँ ? के हो पारा, हान्दिम् घुच्चुकमा ?'
मेरो अनुमानभन्दा पनि निकै कडा निक्ली ऊ । सो वाइल्ड अफ हर । हेर्दै पनि मभन्दा अलि मोटै थिई ऊ, डर लाग्यो, कतै हानिहाल्छे कि ! अलि पछि सरेँ म।
मेरो भन्नु उसलाई केही थिएन । सिकारीको जालमा परेको लाचार सिकार झैं भएको थिएँ म । ओठ-मुख सुकेर प्याकप्याक हुँदै थिएँ । मेरो स्थिति झन् झन् निरीह बन्दै थियो।
मेरो लाचारपनले उसलाई हाँसो उठेछ सायद । एकपल्ट निकै जोडसँग ऊ हाँसी । अनुमानै गर्न गाह्रो पर्ने बेहद सुन्दर रै'छ उसको हाँसो । त्यो हाँसोले म जेलिएको पासो नै केही फुत्किए झैं भान भयो । जिउ हल्का हुन पुग्यो । बदलामा म पनि ऊसँगै हाँसे जस्तो गरिदिएँ।
केहीबेरमै मेरो हाँसो त रोकियो । तर, ऊ रोकिइन । अर्कालाई उडाएर कति हाँस्न सकेकी मोरी ! एक मन त लाग्यो हान्दिऊँ उसको खप्परमै । हाँसोको अन्त्य उसैको रगतले गर्दिऊँ । परन्तु यथेष्ट आँट आएन।
धेरैपछि बल्ल ऊ अलिक कन्ट्रोलमा आई । मन्द-मन्द हाँस्दै ऊ गुञ्जिई,'तिमी त कस्तो डरपोक यार ! जाबो एउटी केटीले हपार्दैमा पनि कस्तो सातोपुत्लो उडेको हो तिम्रो त ! म त जस्ट जिस्किराँ पो थिएँ त । तिम्ले त कस्तो सिरियस्ली लिएको धत् ! हाहाहा...।'
अजीवकी रै'छे ऊ । पहिलो भेटमै सधैं भेटिरहे झैं गरी ऊ मलाई डाइरेक्ट `तिमी´ शब्दद्वारा पुकार्दै थिई । त्यो पनि कति सजिलै `यार´ पनि भनेकी अझ ! ऊ त मलाई हुबहु सकमबरी झैं लाग्दै थिई । पारिजातकी सकमबरीभन्दा कुनै हालतमा पनि ऊ कम थिइन।
वाइल्ड सकमबरी फेरि बोल्दै गई, 'ओइ मिस्टर, रिसायौ कि क्या हो, एउटै बोली फुट्दैन त हँ ! कि तिम्रो जिब्रो छैन र ! कमन ब्वाइ, यो जमानामा रिसाएर केही फाइदा छैन । यहाँ कोही तिम्लाई रुन्चे अनुहारमा माफी माग्नेवाला छैन, बुझ्यौ मिस्टर?'
दाहिने आँखा टुइँक्क झिम्क्याउँदै, उसले आफ्नो हात मतिर अघि बढाई, 'बाइ द वे, म भायोलिना । भायोलिना बज्राचार्य । यहीँ सेन्ट मेरिजमा भर्खरै बिबिए जोइन गरेकी छुँ । घर यतै धोबीघाट । साइकल र भायोलिन लिएर घुम्न निकै मन पर्छ । स्पेसल्ली यस्तै रातमा । रातमा भायोलिन निकै मीठो सुनिन्छ । त्यै हो । बरु, तिम्रो सुनाऊ।'
म झसंग भएँ । उसको न्यानो स्पर्शमा म त यतिसम्म लट्ठ भइसकेको रैछु, उसले हात ताने पछि पो बल्ल होशमा आएँ । उसका शब्दमा भन्दा पनि म त उसको स्पर्शकै जादुमा लट्ठ थिएँ । ती कामुक हत्केलाहरुले क्षणमै मलाई दिवाना बनाइदिएँ ।
केही हडबडमै सुरु गरेँ मैले, 'अ.अ..! म प्रमोद । आरके प्रमोद । पुल्चोक क्याम्पसमा पढिराछु । कैलेकाहीँ यसो रातको कामुकतामा डुबुल्की पार्न मन पराउँछु । घर चैं पश्चिमतिर हो । सल्यान । दाङ त थाहा छ होला नि, हो त्यतै नजिकै पर्छ।'
बल्ल लामो साँस फेरेँ । पहाडै फोरे झैं भयो । पहिलो चोटि मलाई महसुस हुँदै थियो, केटीसँग बोल्नु मेरो वशमा रैनछ।
मेरो कुरामा केही मुस्कुराउँदै उसले थपी, 'एऽऽ ! पुल्चोकमा पढ्ने भनेसी त पढन्ते नै रै'छौ त ! अनि त्यत्रो पढन्ते मान्छे पनि किन यसरी रातबिरात भित्ता-भित्तामा ओइर्या!उँदै हिँडेको त ? पढ्नु पर्दैन लाटा!'
'लाटा' रे ! उसले मेरो खिसी गर्दै भनेकी हुँदी हो । तर, किनकिन उसको अन्तिम यही शब्दले नै मलाई निकै धन्य तुल्याइदियो । बिस्तारै-बिस्तारै ऊ मलाई प्रिय लाग्न थालेकी थिई।
उसको प्रियताको अझै रसपान गर्ने हेतुले म अलि सुर्रिएँ, 'अनि तिम्रो पिठ्यूँमा सुतिरहेको त्यो सुन्दर भायोलिनसँग'नि परिचय गराउनु न त, मिस भायोलिना।'
मेरो मीठो सम्बोधनमा ऊ फिस्स मुस्कुराई।
'मेरो पिठ्यूँ र भायोलिनको सुताइको त खुबै ख्याल गरेछौ त मिस्टर । के हो पारा, तिम्लाई नि सुत्न मन लायो कि क्या हो, भायोलिनसँगै मेरो न्यानो पिठ्यूँमा ? हँ हँ, यु नट्टी ब्वाइ!'
ऊ बिल्कुल मुडमा थिई । सायद उसको मुडमा पनि उही नशालु रातकै दोष हुँदो हो । म भने भरसक आफ्नो मुडमा कन्ट्रोल गर्न खोजिरहेंथेँ।
उसको कुरामा म चुपचाप देखेपछि ऊ फेरि बोली, 'ओके, आई एम रेडी ! हिँड्दै जाऔं । कतै यसो दामी म्युजिकल प्लेस फेला पर्योथ भने मेरो प्यारो भायोलिनसँग मेरो इनोसेन्ट मित्रको परिचय गराइहाल्छु नि, हुन्न र ?'
ऊ लगालग मस्का लाउँदै थिई, 'बरु यसो गर न प्लिज, मेरो साइकल चैं तिमी नै डोर्यागउनु पर्योट के ल ! तिमी हिडिराँ, मैले डोर्याोइरा, फिटिक्कै सुहाएन के । हेर्दा'नि यसो गर्लफ्रेन्ड-ब्वाइफ्रेन्ड जस्तो देखियोस् न । हो कि होइन भन त?'
म के नै पो भन्न सक्थेँ र ! उसको लचलताका सामु त म अब केही पनि रहिनँ । आई वाज जस्ट नथिङ । त्यसैले बरु खुरुखुरु ऊ सँगै हिँडिदिएँ उसको साइकल डोर्याउँदै, चिसो गहिरो अन्धकारतिर।
…
पुल्चोक पुग्नै लाग्दा ऊ फेरि गुनगुनाई, 'साँच्ची प्रमोद ! एउटा कुरा सोधम् ?'
कत्ति न अघिदेखि सबै कुरा मेरै अनुमतिमा सुनाइरहे झैं गर्दै थिई ऊ । उसको कुरामा मेरो 'अँ या अहँ' ले के नै पो फरक पार्थ्यो र!
'सोध । तिम्लाई जे मन लाग्छ सोध । आई एम अल्वेज रेडी।'
'लेडिज स्कुलमा पढ्ने केटीहरू त खतरनाक पो हुन्छन् त हो, सुन्या छौ तिम्ले?'
ऊ फेरि एकपल्ट डरलाग्दो गरी हाँसी । उसको भीमकाय हाँसो सहरभरि गुञ्जियो । उता, रात भने झन्-झन् रोमान्टिक बन्दै थियो । त्यो निशाचर रोमान्सको सिलसिला कहाँ पुगेर टुंगिँदै छ, यसै अनुमान गर्न निकै गाह्रो हुँदै थियो !
सल्यान, हाल: पुल्चोक इन्जिनियरिङ क्याम्पस।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।