काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंका नवनियुक्त प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले काठमाडौंको शान्ति सुरक्षा कायम राख्न कसैसँग सम्झौता नगर्ने बताएका छन्।
बिहीबार आफ्नै कार्यकक्षमा पत्रकारहरुसँग कुरा गर्दै एसएसपी सुवेदीले कानुनविरोधी गतिविधि गर्नेहरुमाथि प्रहरी कठोर भएर प्रस्तुत हुने बताए। सामाजिक विकृतिले जरा गाड्दै गएकाले त्यस खालका नकरात्मक क्रियाकलाप हटाउन प्रहरीले जनचेतना कार्यक्रम पनि गर्दै जाने पनि उनले बताए।
‘सामाजिक विकृति हटाउन जनचेतनाको आवश्यकता हुन्छ। समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत हामी जनचेतना अभियान सञ्चालन गर्छौं,’ एसएसपी सुवेदीले भने।
त्यस्तै, सेवाग्राहीमैत्री प्रहरी कार्यालय बनाइने पनि उनले बताए। यसभन्दा अघिका प्रहरी प्रमुखले गरेका राम्रा काम र योजनालाई निरन्तरता दिँदै शान्ति सुरक्षा मजबुत बनाउँदै जाने एसएपी सुवेदीको भनाइ छ।
त्यस्तै, टोले गुण्डाहरु विरुद्ध कठोर भएर प्रहरी उत्रने उनले बताएका छन्। ‘टोले गुण्डा र गलत बाटोमा लागेकालाई कानुनी कठघरामा उभ्याइन्छ,’ एसएसपी सुवेदीले भने, ‘सम्झाउँदा नमान्नेविरुद्ध कानुनी उपचार खोज्न प्रहरी बाध्य हुन्छ। त्यही अनुसार अघि बढ्छौं।’
काठमाडौंको अहिलेको चुनौतीको रुपमा ठगी, चेक बाउन्स, विस्फोटक पदार्थ, सामाजिक विकृति रहेको औल्याउँदै उनले यसविरुद्ध प्रहरी क्रियाशील भएर लाग्ने एसएसपी सुवेदीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।