जनकपुर- धनुषाको मिथिला नगरपालिकाको मुख्य बजार केन्द्र ढल्केबर यतिबेला शोकमा डुबेको छ। ढल्केबरका चोक-चोकदेखि चिया पसलमासमेत बालकको हत्याबारे कुरा हुन्छ।
‘बच्चाको घाँटी रेटेर हत्या गर्ने कस्तो निर्दयी पापी होला,' प्रायः सबैका मुखबाट यतिबेला यही विलौना सुनिन्छ।
अतालिएको छ, ढल्केबर।
पछिल्लो पटक प्रदेश–२ को धनुषा सहितका जिल्लाहरूमा बालबालिकामाथि भइरहेको हिंसाले स्थानीयहरू भयभित छन्। उनीहरू आक्रोशित छन्।
मृतक बालकका आमा ३५ वर्षीया रेनु साह मुर्छित् छिन्।
मेरो राजाबाबु मलाई छोडेर कहाँ गयौ अर्थात् ‘हमर राजाबाबु हमरा छोइर के कत चैयल गेलै,’ भन्दै भक्कानिन्छिन्।
मृतक बालकको १२ वर्षीया दिदी अर्चना साहले ‘आब हम केकरा भाइ कहबै, हम केकरा जोरो खेल्बै’ अर्थात् अब कसलाई भाई भन्ने, कोसँग खेल्नेु भन्दै रोएर बसेकी छन्।
बालककी हजुरआमाले ‘हमर जिगर के टुकडा केकरा कथी बिगार करले छलै, ओते छोट्का बच्चाले केना माइर देलकै।’ अर्थात् पापीहरूले त्यति सानो बाबुको हत्या कसरी गर्न सके?
छोराले ‘माई' भनेर बोलाउने तोतेबोली रेनुको मानसपटलमा ताजै छ।
मृतकका बाबु शम्भु साह वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया छन्।
सोमबार साँझ गाउँबाटै अपहरणमा परेका अढाई वर्षीय बालक आर्यन साहको घाँटी रेटी हत्या गरेर बगैंचामा फालेको अवस्थामा शव भेटिएको थियो।
‘बालकलाई हामीले जिउँदै फेला पार्न हराएको बेलादेखि नै खोजिरह्यौं,' जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर कोइरालाले भने, ‘तर मंगलबार बिहान एकाएक घाँटी रेटी हत्या गरेको अवस्थामा शव भेटियो।’
पछाडिबाट घाँटी रेटिएको अवस्थामा बालकको शव भेटिएको हो।
प्रहरीले विभिन्न कोणबाट घटनाको अनुसन्धान थालेको छ। घटनास्थलबाट इलाका प्रहरी कार्यालय ढल्केबर एक किलोमिटर दूरीमा छ।
अबोध बालकको हत्याले ढल्केबर शोकमा डुबेको छ। मंगलबार छिमेकीसमेतका चुलोमा आगो बलेन।
‘समाजमा सुरक्षित भइन्छ भन्ने आत्मविश्वास गुमेको छ,' मृतक आर्यनका काका सञ्जय साहले भने, ‘समाजमा हिजोआज के भइरहेको छ, बुझ्न सकिएन।’
अपराधी पत्ता लगाउन विद्यार्थीको दबाब र्याली
हत्यारालाई छिटोभन्दा छिटो पत्ता लगाउन प्रहरीलाई दबाबस्वरुप मिथिला नगरपालिकाका निजी विद्यालयका विद्यार्थी तथा मिथिला नगरपालिका प्याब्सनले ढल्केबरमा बुधबार शान्तिपूर्ण दबाब र्याली प्रदर्शन गरेका छन्।
'आर्यन साहलाई न्याय दिलाऊ, हत्या हिंसा बन्द गर, अपराधीलाई कारबाही गर' जस्ता प्लेकार्ड तथा ब्यानर बोकेर विद्यार्थीले नगर परिक्रमा गरेका थिए।
र्यालीमा मिथिला नगरपालिकाका विनायक इङलिस बोर्डिङ स्कुल, चिल्ड्रेन गार्डेन इ बो स्कुल, ढल्केबर एकेडेमी ढल्केबर र न्यू होराइजन इ बो स्कुल बेंगाडाबर लगायतका सयौं विद्यार्थीहरू सहभागी थिए।
र्याली पश्चात आयोजित कोणसभामा वक्ताहरूले बिभत्स तरिकाले हत्या गरिएका आर्यनको हत्यारालाई अबिलम्व पक्राउ गरी हदैसम्मको कारबाही गर्न प्रहरी प्रशासन समक्ष माग गरेका थिए।
त्यसैगरी कोणसभालाई सम्बोधन गर्दै सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश २ का अध्यक्ष सोमप्रसाद शर्माले अबोध बालक आर्यनको हत्याले कानुनको ठाडो रुपले उपहास गरेको बताउँदै क्रुरुरतापूर्वक अमानवीय हत्याले प्रहरी प्रशासनलाई चुनौती दिएको बताए।
उनले हत्याका विरुद्धमा संगठित भएर दबाब सिर्जना गर्न अगुवाइ गरिरहेका विद्यालयलाई धन्यवाद दिँदै सुरक्षा निकायका प्रतिनिधि, अनुसन्धानमा खटिएका सदस्यहरूलाई हत्यामा संलग्नलाई अबिलम्ब खोजतलास गरी कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउन माग गरे।
यस्तै, मिथिला नगरपालिकाका उपमेयर तारा बस्नेतले बालबालिकाको बढ्दो हत्या हिंसाले देशको अवस्थालाई कुन ढंगबाट लैजान लागेको बताइन्।
'हत्याको कारण दुश्मनी'
इलाका प्रहरी कार्यालय ढल्केबरका टोली र गाउँलेले रातभर बालकको खोजी गरेका थिए। तर, बिहान आफ्नै घरपछाडिको बगैंचामा हजुरबुबा पीताम्बर साहले नातिको शव देखेका थिए।
पीताम्बरले भने, ‘एक वर्षअघि हाम्रो परिवारमाथि छिमेकीका छोराले बलात्कार गरेका थिए। त्यस घटनामा संलग्नलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी हालेका थियौं। घटनाका दोषी जेलमा छन्। त्यसबेलादेखि छिमेकीसँग दुश्मनी भएको थियो,’ पीताम्बरले भने, ‘छिमेकीले भनेको नमान्दा उनले भनेका थिए कि एकदिन बदला लिएर छोड्छौं।’
नातिको हत्या बदलाको भावनाले गरेको हुनसक्ने आशंका उनमा छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी कोइराला नेतृत्वको टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको छ।
प्रहरीले शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको इन्स्पेक्टर सरोज रायले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।