नयाँ दिल्ली (एजेन्सी)- बलिउडमा संघर्ष गर्न विभिन्न कुनाका मानिस पुग्ने भएकाले मुम्बईलाई 'मायानगरी' पनि भनिन्छ। किनकि त्यहाँ कहिले कसको भाग्य बदलिन्छ, पत्तै हुँदैन। त्यसका लागि केवल सही मौकाको मात्र खाँचो हुन्छ। यस्तै कथा बलिउडमा रमाइरहेकी डेजी शाहको पनि छ।
कुनै समय डेजी ठूला कलाकारहरुको पछाडि जुनियर कलाकारहरुको भिडमा कोरस डान्स गर्थिन्। केही समयपछि सहायक नृत्य निर्देशक बनेकी उनले सन् २०१४ मा 'जय हो' फिल्मबाट बलिउडमा डेब्यू गरिन्। फिल्ममा उनको हिरो सलमान खान थिए।
सुरुवाती यात्रामै सलमानसँग देखिनु जोकोही नयाँ कलाकारका लागि 'ड्रिम डेब्यू' हुन्छ। यसै पनि बलिउडमा सलमानको साथ भए खासै समस्या खेप्नुपर्दैन। यस्तै अवस्था ‘रेस-३’ मा देखिँदै छ। 'जय हो' पछि यो फिल्ममा सलमान र डेजी एकसाथ देखिँदै छन्।

डेजीले यसअघि 'हेट स्टोरी-३' मा पनि अभिनय गरेकी थिइन्, जसमा उनको प्रस्तुति निकै 'बोल्ड' थियो।
यसैबीच 'रेस- ३' को प्रचारका लागि कलर्स टिभीको 'बिग बोस' कार्यक्रममा पुगेकी डेजीले रोचक खुलासा गरेकी छिन्। कार्यक्रमका होस्ट सलमान खानको उपस्थिति रहेको कार्यक्रममा डेजी जैक्लिन फर्नान्डिज, बबी देओलसहित पुगेकी थिइन्।
त्यस क्रममा डेजीले विगतको कुरा खुलाइन्, 'जब अब्बास-मस्तानले ‘रेस’ निर्देशन गरेका थिए, त्यो बेला म त्यही फिल्मको सहायक कोरियोग्राफर थिएँ।' उनले 'रेस' फिल्मसँग जोडिएको आफ्नो अनुभव पनि सुनाइन्।
कार्यक्रममा सलमानले उनको कुरा ध्यानपूर्वक सुनेका थिए। पक्कै पनि डेजीको लागि यो निकै ठूलो उपलब्धि हो, कुनै बेला जुन फिल्मको कोरियोग्राफीमा उनले सहयोग गरेकी थिइन्, आज त्यही फिल्मको लिड रोडमा देखिँदै छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।