चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट पार्टी एक हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै ठूलो तरंग आएको बताएका छन्।
‘वाम गठबन्धन जिताऔँ : नागरिक अभियान’ चितवनले आज भरतपुर महानगरपालिका–६ गीतानगरमा आयोजना गरेको प्रचण्डसँग नागरिक समाज कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई कम्युनिस्ट मिल्दा २००७ सालयताकै ठूलो राजनीतिक तरंग आएको बताए।
जनयुद्ध सुरु गर्दा पनि यति ठूलो तरंग राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नआएको बताउँदै उनले यो विचित्रको कुरा भएको बताए। 'कम्युनिस्ट मिल्दा एउटा जनमत उत्साहित भएको छ, अर्को पक्षमा विचलित जस्तो नकारात्मक तरंग देखिन्छ,' उनले भने।
जस्तोसुकै तरंग आए पनि नेपालमा वामपन्थीको सरकार आउने र त्यसलाई राष्ट्रलाई समाजवादतर्फ लैजाने उनको भनाइ थियो।
बिपी कोइराला र गिरिजाप्रसाद कोइराला अहिले भएको भए कम्युनिस्ट एकता देखेर खुसी हुने बताउँदै प्रचण्डले पार्टी एक हुँदा राष्ट्रलाई फाइदा हुने र देश समृद्धितर्फ अगाडि बढ्ने बताए।
अहिलेको कांग्रेस बिपीको समाजवाद र गिरिजाप्रसादको गणतन्त्रको लाइनबाट थोरै विक्षिप्त भएको दाहालको भनाइ थियो। 'बिपीको समाजवाद र गिरिजाको गणतन्त्रको लाइनबाट कांग्रेस विचलित भएकाले उहाँहरुले गल्ती गर्नुभयो भन्ने मेरो आरोप छ,' प्रचण्डले भने।
राष्ट्र, राष्ट्रियता र स्वाधिनताको मुद्दामा भोलि कांग्रेससँग पनि सहकार्य हुन सक्ने भन्दै उनले थपे, 'यति धेरै गाली नगर्नुहोस्, भोलि मिल्नुपर्छ। त्यसबेला हात मिलाउन पनि लाज लाग्ने नहोस्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।