एक दिन म हावडादेखि विलासपुर गइरहेको थिएँ । म बसेको पहिलो श्रेणीको डिब्बामा एउटा मानिस चढ्यो । उसको धोती अलि फाटेको थियो अनि कमिज मैलो थियो । मैले उसलाई शंकाको दृष्टिले हेरेँ । त्यो मानिसले छेउवमा आएर सोध्यो- 'तपाईं कहाँ जानुहुन्छ ?'
'विलासपुर' – मैले छोटो उत्तर दिएँ ।
'राम्रै भयो । म पनि विलासपुरै जाँदै छु । तपाईं त्यहाँ के गर्नुहुन्छ ?' – उसले सोध्यो ।
'म त्यहाँको मेडिकल अफिसर हुँ', मैले गर्वसाथ भनेँ । ऊसित कुरा गर्न मन लागेको थिएन । मैले टाउको फर्काएँ । सोचेँ, यो मानिस अवश्य पनि टिकट बिना चढेको होला । टिकट चेकर आए वेश हुने थियो । तर, ऊ मलाई छोड्न चाहँदैनथ्यो । उसले भन्यो- 'तपाईंले कति तलब पाउनुहुन्छ ?'
मलाई रिस उठ्यो । जवाफ नदिई म चुपचाप बसेँ । उसको कुरा भने टुङ्गिएन । ऊ बोल्न थाल्यो- 'रुपियाँ नै सबथोक रहेछ । रुपियाँ भए सबै आफ्नो, नभए कोही पनि आफ्नो हुन्न ।'
मैले उसको कुराका ध्यानै दिएको थिइनँ । त्यहाँ दुई वटा बर्थ थिए । ऊ बोलिरहेको थियो- 'हेर्नुहोस् न, नोकरी गरेर छोराछोरीलाई मान्छे बनाएँ । कोर्टमा नोकरी गर्थेँ । आम्दानी राम्रो थियो । पछि मलाई हेर्लान् भनेर छोराछोरीको निम्ति कति दु:ख गरेँ, तर अहिले हेर्नुहोस् न !'
'छोराले हेर्दैन ?' मैले उसको कुरामा चासो मानेको भावमा भनेँ ।
उसले भन्यो- 'म छोराकहाँ जाँदै छु । एक पैसा पठाउँदैन । त्यसलाई मैले जानेको छु ! आँखा पनि राम्रो देख्दिनँ । डाक्टर देखाउन पनि पैसा लाग्छ । होइन त ?'
'पैसा त लाग्छ नि', मैले भनेँ ।
'आठ रुपियाँ नदिएसम्म डाक्टरले हेर्ने होइन । आठ रुपियाँ कहाँबाट ल्याउनु ?' उसले आफ्नो लाचारी प्रकट गर्यो ।
'छोराले एक पैसा पनि पठाउँदैन ?' मैले सहानुभूति देखाउन प्रश्न गरेँ ।
'साठी रुपियाँ पठाउँछ महिनामा । साठी रुपियाँले आजकल के हुन्छ र ?'
'अरु छोराहरु छैनन् ?' मैले सोधेँ ।
'अरु पनि छन् तर सबै आफ्नै संसारमा मस्त छन् । म बूढो बाबुलाई हेर्ने तिनीहरुको फुर्सद नै कहाँ ? दस वर्षदेखि आँखामा जाली लागेको छ । तर, डाक्टरको आठ रुपियाँ फिस दिन कोही मान्दैनन् । सरकारी अस्पतालमा जानू भन्छन् । तर, मैले उनीहरुको इज्जत पनि त हेर्नुपर्छ', ऊ अझ उत्तेजित भएर बोल्न थाल्यो, 'डाक्टर देखाउँछु, आठ रुपियाँ पठाइदे भनेर चिठी लेखेँ । तर, जवाफ के आयो, थाहा छ ?'
'के आयो ?' मैले उसको प्रश्न दोहोर्याएँ ।
उसले विस्तारै भन्यो, 'होस् नभनूँ, मन व्यर्थै खल्लो हुन्छ । कति दुःख गरेर तिनीहरुलाई मान्छे बनाएँ । अहिले त्यसको परिणाम यस्तो !'
'त्यो आठ रुपियाँको निम्ति तपाईंलाई रेलभाडा नै धेरै लाग्यो त', मैले भनेँ ।
उसले अलिकति हाँस्दै भन्यो- 'रेल भाडा ? मैले टिकट काटेको भन्ने सम्झनुभएको छ ? जीवनमा पैसा तिरेर कहिल्यै रेल चढेको छैन । कम्पनीको रेल आउँछ, जान्छ । म चढ्दा कोइला बढी लाग्छ र ? टिकट छैन र त पहिलो श्रेणीमा चढेको ।' ऊ फेरि हाँस्यो ।
उसको कुरा सुनेर मलाई रिस उठ्यो । यस्तो लाग्यो, टिकटचेकर आएर उसलाई बाहिर निकालिदेओस् ।
'फेरि हुर्काएर मान्छे बनाएर पनि अहिले कसैले हेर्दैन । आठ रुपियाँको निम्ति… … ।' उसले भन्यो- 'आठ रुपियाँ अहिले मेरो निम्ति आठ सय जत्तिकै छ । कुनै समस्या म दुवै हातले पैसा बाँड्थेँ । अहिले आठ रुपियाँको निम्ति छोरासित भीख माग्नुपर्दै छ।'
उसको आँखाभरि आँसु थियो । अनुहार टीठलाग्दो थियो । ऊप्रति दया लागेर आयो । मैले भनेँ- 'टिकटचेकर आयो भने त तपाईंलाई निकालिदिन्छ।'
'निकालोस् । म फेरि अर्को ट्रेनमा चढ्नेछु।'
'तपाईंसित भएको पैसा पनि लग्यो भने के गर्ने ?'- मैले सोधेँ।
उसले सहजसाथ भन्यो- 'मसित पैसा छैन । नाङ्गै पारे पनि एक पैसा पाउने होइन!'
'ट्रेनमा खानलाई पैसा चाहिन्न त ?' – मैले प्रश्न गरेँ।
'मसित खानेकुरा छ ।' एउटा पोको देखाउँदै उसले भन्यो– 'एक रूपियाँको चिउरा बडाबजारबाट किनेर ल्याएको छु । काँचो खुर्सानी पनि छ । यो उमेरमा चप कटलेट इत्यादि पचाउन सकिने होइन । उमेरमा सबै कुराको स्वाद लिइसकेको छु।'
त्यसपछि म उसलाई मालसामान हेरिदिने अनुरोध गरेर खान हिँडेँ । म फर्कंदा ऊ काँचो खुर्सानीसित चिउरा खाइरहेको थियो।
मलाई देख्नासाथ उसले सोध्यो– 'खानुभयो?'
'खाएँ ।'– मैले भनेँ ।
उसले फेरि सोध्यो– 'कति लाग्यो?'
'दस रूपियाँ', – मैले भनेँ।
ऊ झसङ्ग भयो अनि मलाई हेर्दै भन्यो– 'एक खेपको खाना दस रूपियाँ?'
रात निकै बितिसकेको थियो । अब सुत्ने तरखर गर्दै मैले भनेँ– 'अब बत्ती निभाएर सुत्नुपर्छ । खाइसक्नुभो?'
'तपाईं सुत्नुहोस् । म यहाँ माथि सुत्छु', यति भनेर ऊ माथिल्लो बर्थमा चढ्यो । ऊसित लुगाफाटा, सुटकेस केही थिएन । लुगाफाटा त्यतिकै लाएर जुत्ता पनि नफुकाली ऊ सुत्यो।
'जुत्ता लाएरै सुत्नुहुन्छ ?' – मैले सोधेँ।
'अहँ, खोल्दिनँ । नयाँ जुत्ता बनाएको भर्खरै', उसले जवाफ दियो । साँच्चै, जुत्ता भने नयाँ थियो । मैले जुत्ताको दाम सोधेँ । उसले भन्यो– 'अर्डरमा बनाएको । अठार रूपियाँ लाग्यो।'
ट्रेनको टिकट किन्न नसक्ने, आठ रूपियाँको निम्त छोरासित भीख माग्ने अनि जुत्ता चाहिँ अठार रूपियाँको लाउने ! म आश्चर्यमा परेँ।
मैले सोधेँ– 'सायद तपाईंलाई जुत्ताको विशेष सोख छ होला?'
'मेरो जुत्ता पूरा पाँच वर्ष खप्छ । खाई नखाई जुत्ता चाहिँ म राम्रै लगाउँछु', ऊ आफ्नो सोखको बयान गर्दै थियो।
म उसको अनौठो सोख देखेर छक्क पर्दै निदाएँ।
भोलिपल्ट बिहान मलाई चाँडै निद्राले छोड्यो । उसले सोध्यो– 'यो स्टेशनपछि विलासपुर आउँछ, होइन ? मैले 'हो' भनेपछि ऊ बर्थबाट ओर्लियो । म पनि आफ्नो लुगाफाटो ठीक गर्न थालेँ।
उसले केही चिन्तित हुँदै भन्यो– 'विलासपुरमा त धेरै टिकटचेकरहरू हुन्छन्, होइन?'
'हो, तपाईंले खूबै सतर्क भएर उत्रिनुपर्छ', मैले उसलाई जनाइदिएँ।
'ट्रेन ठीकसँग नथामिईकन म उत्रन्छु', उसले भन्यो।
साँच्चै विलासपुर स्टेशनमा ट्रेन थामिनुअघि नै ऊ ट्रेनबाट हामफाल्यो । त्यति नै बेला चारैतिर मानिसहरूको होहल्ला सुनियो– 'मान्छे मर्यो ! मान्छे मर्यो!'
ट्रेन थामिएपछि मैले देखेँ– मसित आउने उही मानिस लिक र प्लेटफर्मको बीचमा लम्पसार परेको थियो । त्यहाँ भीड जम्मा भएको थियो । उसलाई मुश्किलले त्यहाँबाट निकालियो । उसका दुइटै खुट्टा रेलले काटिएका थिए।
मानिसहरूले उसलाई स्ट्रेचरमा हालेर अस्पताल पुर्याए । ऊ चिच्याइरहेथ्यो– 'मेरो खुट्टा…..मेरो खुट्टा!'
अस्पतालमा सबै कुराको व्यवस्था चाँडै भयो– औषधि, इन्जेक्सन, ब्यान्डेज इत्यादि । बेहोश नभइन्जेल चिच्च्याइरहेको थियो– खुट्टा…..खुट्टा।
खबर पाएर उसको छोरो पनि आयो । आठ रूपियाँको निम्ति छोरा चाहिँलाई गाली गरेँ । छोरोले चुपचाप कुरा सुनिरह्यो।
अर्को दिन उसको होश आउनेबित्तिकै उसले मलाईं आफ्नो खुट्टाको विषयमा सोध्यो।
'खुट्टाको निम्ति सुर्ता नमान्नुहोस्, तपाईं बाँच्नुभयो त्यसैमा सन्तोष मान्नुहोस्' भनेर मैले भनिदिएँ । तर, ऊ 'मेरो दुवै खुट्टा ल्याइदिनुहोस्, डाक्टर बाबू, मेरो खुट्टा' भन्दै एकोहोरो कराउन थाल्यो।
'तपाईंको खुट्टा राखिदिएका छौं, तपाईं निको भएपछि दिनेछौं', मैले यति भनेपछि ऊ अलिकति अाश्वस्त भयो।
विस्तारै उसको स्वास्थ्य ठीक हुन लाग्यो । तर, डाक्टर, नर्स जोसित पनि उसले खुट्टाकै कुरा गर्थ्यो । मसित पनि ऊ खुट्टाकै कुरा गर्थ्यो । एकदिन मैले बुझेँ, उसको सुर्ता खुट्टाको निम्ति होइन, जुत्ताको निम्ति रहेछ, अठार रूपियाँ दिएर किनेको जुत्ता । त्यस्तो मान्छेले जुत्ताको माया गर्नु स्वाभाविकै हो।
मैले जुत्ताको खोजी गर्दा थाहा भयो, मानिसहरूले उसको जुत्ता खुट्टासितै जलाएर खाक पारेछन् । त्यस दिन मैले उसलाई भनिदिएँ- 'खुट्टासितै जुत्ता पनि जलाइयो' भनेर।
मेरो कुरा सुन्नासाथ उसको अनुहार स्याप्पै सुक्यो । स्याँ-स्याँ गर्दै उसले भन्यो, 'डाक्टर बाबू, त्यो जुत्ताभित्र… … … मेरो … … रूपियाँ… … … थियो । मैले … … रूपियाँ राख्नलाई विशेष… … अर्डर दिएर… … बनाएको थिएँ।'
'कति रूपियाँ थियो ?'– मैले आश्चर्य मान्दै सोधेँ।
'त्रिपन्न हजार… …।' एक्कासि उसको सास रोकियो । खुट्टा काटिएको दुःख सहन सके तापनि रूपियाँ जलेको कुरा उसले सहन सकेन ।
ऊ सधैंको निम्ति निदायो।
अनुवाद: राजनारायण प्रधान
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।