नेपालगञ्ज- निर्वाचनका बेला हुन सक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न बाँके प्रहरीले सीमावर्ती क्षेत्रमा सुरक्षा सक्रियता बढाएको छ।
भारतको रुपैडिया नाका हुँदै नेपालगञ्ज आउने यात्रु तथा सवारीसाधन चेकजाँचमा प्रहरीले कडाइ थालेको हो। जमुनाहा नाकामा तालिमप्राप्त कुकरको सहयोगमा चेकजाँच भइरहेको छ भने ४ वटा सिसिटिभी राखेर निगरानी बढाइएको छ। सीमा क्षेत्रमा ओहोरदोहोर गर्नेहरुको अनुगमन तथा निगरानी गरी सिसिटिभीले रेकर्ड गरेको दृश्य प्रहरी चौकीको कार्यालयभित्र राखिएको टेलिभिजनमार्फत प्रहरीले अनुगमन गर्दै आएको छ।
खुला सीमाको फाइदा उठाउँदै आपराधिक समूहबाट साना हतियार, लागुऔषध, महिला तथा बालकालिकाहरुको ओसारपसार जस्ता आपराधिक गतिविधि बढ्दै गएपछि नियन्त्रणका लागि प्रहरीले सुरक्षा सक्रियता बढाएको हो।

निर्वाचनका बेला सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गर्ने, सूचना संकलन गरी त्यसको विश्लेषण गरेर सुरक्षाकर्मीहरुको परिचालन गर्ने र भारतीय सुरक्षाकर्मीहरुसँग समन्वय गरेर सीमावर्ती क्षेत्रको सुरक्षा प्रभाबकारी बनाइएको बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताए।
आपराधिक गतिविधि नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त गस्ती टोलीले पनि सीमामा निगरानी गर्दै आएका छन्।
संयुक्त गस्ती टोलीमा सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षाबल (एसएसबी) का सुरक्षाकर्मीहरु परिचालन भएका छन्।
नेपाल-भारतका सुरक्षा अधिकारीबीच स्थानीय तहको निर्वाचन बेला सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सीमा क्षेत्रमा संयुक्त निगरानी र सुरक्षा गस्तीलाई बढाउने समहति भएको थियो।
बाँकेको करिब ६५ किलोमिटर क्षेत्र भारतीय सीमासँग जोडिएको छ। सीमावर्ती क्षेत्रमा नेपाल प्रहरीका ९ र सशस्त्र प्रहरीका ६ वटा युनिट रहेका छन् भने एसएसबीका २४ युनिट खटिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।