काठमाडौं- काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रका मोटरसाइकल चोरी गर्दै भारत लगेर बेच्ने गिरोहका २ सदस्यलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका–१ घर भई हाल ललितपुर, सानेपा बस्ने २४ वर्षीय प्रमोद कुमार पनुहर र रौतटहको गजुरा नगरपालिका–८ घरभई हाल ललितपुर, सानेपा बस्ने २२ वर्षीय रामविश्वास चौधरी छन्।
प्रहरीले उनीहरुको साथबाट फाइबरको झोलामा राखेको ना ६४ प २५८५ नम्बरको मोटरसाइकलको नम्बर प्लेट २ थान, सोही नम्बरको सवारी दर्ता किताब (ब्लु बुक) मोटरसाइकलको लक तोड्ने स्क्रुप २ थान, नट खोल्ने पेचकस १ थान, मोटरसाइकल लकर १ थान र चाबी २ थान बरामद गरेको छ।

उनीहरुलाई वैशाख १४ गते साँझ ७ बजेतिर स्वयम्भू हाइटमा पार्किङ गरेर राखेको मोटरसाइकल चोरी गर्ने लाग्दा प्रहरीले पक्राउ गरेको हो।
उनीहरुले मोटरसाइकल चोर्ने र आफूसँगै भएको ना ६४ प २५८५ नम्बरको मोटरसाइकलको थप दुई वटा नम्बर प्लेट बनाएर झोलामा बोक्ने र चोरी गरेर केही पर लगेपछि तुरुन्त नम्बर प्लेट परिवर्तन गर्ने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए।
चोरी गरेका मोटरसाइकलको नम्बर प्लेटमा आफ्नो भइरहेको मोटरसाइलको नम्बर प्लेट हालेपछि ब्लुबुकसमेत हुने र चेकिङमा पर्दासमेत सहजै उम्कने भएपछि उनीहरुले यसो गरेको प्रहरीले जनाएको छ।
यसरी चोरी गरेपछि उनीहरुले उत्तः मोटरसाइकल भारत लगेर बेच्ने गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।