काठमाडौं– संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीच पार्टीबीच भएकाे एकताकाे औपचारिक घाेषणा आज हुँदैछ। शनिबार फाेरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति संयाेजक डा बाबुराम भट्टराईबीच एकताका लागि सहमतिपत्रमा हस्ताक्षर भएको थियाे।
दुवै पार्टीको केन्द्रीय समितिको बैठकअनुसार एकताका लागि भएकाे सहमतिलाई अनुमोदन गर्दै आज औपचारिक रुपमा नयाँ पार्टी घोषणा गरिने नयाँ शक्तिका प्रवक्ता डम्बर खतिवडाले जानकारी दिए। नयाँ पार्टीको नाम 'समाजवादी पार्टी, नेपाल' रहने सहमति भएको छ।
केही समयअघि देखि नै छलफलमा रहेका दुबै दलले गत शनिबार नयाँ शक्तिको पार्टी कार्यालय बबरमहलमा बैठक बस्दै एकताकाे टुंगाे लगाएकाे थियो।

दुई पार्टीबीच भएको सहमतिअनुसार डा बाबुराम भट्टराई एकीकृत पार्टीको संघीय परिषद्को अध्यक्ष हुनेछन्। त्यस्तै, उपेन्द्र यादवले केन्द्रीय समितिको अध्यक्षता गर्नेछन्। संघीय परिषद्का अध्यक्षले केन्द्रीय समितिको निर्णयलाई विशेष परिस्थितिमा उल्ट्याउने अधिकार विधानमा राखिने सहमति भएको छ। संघीय परिषद् एक हजार भन्दा बढी सदस्यीय हुने पनि बताइएकाे छ।
दुई अध्यक्ष रहे पनि भट्टराई पहिलो बरियतामा रहनेछन् भने यादव दोस्रोमा रहनेछन्।
नयाँ पार्टीकाे केन्द्रीय समिति २ सय ९९ सदस्यीय बनाउने सहमति भएकाे फाेरमका एक नेताले बताए। जसमा फाेरमबाट २ सय र नयाँ शक्तिबाट ९९ सदस्य रहनेछन्।
समाजवादी पार्टी, नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैंगिक र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने जनाइएकाे छ।

नयाँ शक्तिले अन्तिमसम्म राख्दै आएको सरकार छाड्ने 'बटमलाइन'का विषयमा भने मध्यमार्गी विकल्प खोजिएको छ। सहमतिअनुसार एकीकृत पार्टीले संविधान संशोधनको लागि केही मागहरु राखी अल्टिमेटम दिनेछ। माग पूरा नभएको अवस्थामा पार्टीले सरकार छाड्ने बताइएकाे छ।
दुवै पार्टीबीचकाे औपचारिक एकता घाेषणा कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानमा ११ः४५ मा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।