काठमाडौं– इंग्लिस प्रिमियर लिगको पूर्व विजेता म्यानचेस्टर युनाइटेडको शीर्ष चारमा रहेर युरोपियन च्याम्पियन्स लिग खेल्ने आसा सकिएको छ।
आइतबार भएको खेलमा रेलिगेशनमा परेको हडर्सफिल्ड टाउनसँग १–१ को बराबरीमा रोकिएसँगै म्यानचेस्टरको शीर्ष चारमा पर्ने अभियान सकिएको हो। खेलमा म्यानचेस्टरका लागि म्याटोनीले आठौं मिनेटमा पहिलो गोल गरे। हडर्सफिल्डका लागि एमबेन्जाले ६० मिनेटमा बराबरी गोल फर्काए।
लिगको छैटौं स्थानमा रहेको म्यानचेस्टरको अन्तिम खेलअघि ६६ अंक भएको छ। चौथो स्थानको टोटनह्यामको ७० अंक छ। त्यसैले अब अन्तिम खेलमा जित हात पारे पनि म्यानचेस्टर शीर्ष चारमा पर्ने छैन।
यता चेल्सीले वाटफोर्डमाथि ३–० को जित हात पारेर शीर्ष चारमा पर्ने पक्का भएको छ। चेल्सीको जितमा लोफटस चेकले ४८, डेभिड लुइसले ५१ र हिग्युइनले ७५ मिनेटमा गोल गरे।
जितपछि चेल्सी अन्तिम खेलअघि ७१ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। पाँचौ स्थानको आर्सनल ६७ अंक मात्र भएकाले चेल्सी शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।