डब्लिन– बंगलादेश, आयरल्यान्ड र वेस्ट इन्डिजबीच सुरु भएको त्रिकोणीय एकदिवसीय सिरिजको पहिलो खेलमा विश्व रेकर्ड बनेको छ।
डब्लिनमा भएको पहिलो खेलमा वेस्ट इन्डिजका ओपनरद्वयले घरेलु टिम आइरल्यान्डविरुद्ध अहिलेसम्मकै ठूलो साझेदारी गरेर विश्व रेकर्ड बनाएका हुन्।
टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका ओपनरद्वय जोन काम्पबेल र साइ होपले ३ सय ६५ रनको साझेदारी गरेका हुन्। कीर्तिमानी साझेदारी गर्ने क्रममा उनीहरुले ४७.२ ओभरसम्म खेलेका थिए। काम्पबेल १ सय ७९ बनाएर आउट भएपछि कीर्तिमानी साझेदारी तोडिएको थियो। काम्पबेललाई आयरल्यान्डका म्याकार्थीले आउट गरेका थिए। होपले १ सय ७० रन जोडे।
यसअघि सबैभन्दा ठूलो साझेदारी भारतका पुनम राउत र दिप्ती शर्माको नामा थियो। उनीहरुले सन् २०१७ मा आयरल्यान्डविरुद्ध ३ सय २० रनको साझेदारी गरेका थिए। पुरुष क्रिकेटमा भने इमाम उल हक र फकर जमानको नामको कीर्तिमानी साझेदारी थियो। उनीहरुले गत वर्ष जिम्बावेविरुद्ध ३ सय ४ रनको साझेदारी गरेका थिए।

कीर्तिमानी साझेदारी भएको खेलमा वेस्ट इन्डिजले ३ विकेटको क्षतिमा ३ सय ८१ रन जोड्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।