काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा दिवसको अवसर ११ विधामा पुरस्कार प्रदान गरेको छ।
पहिलो पटक मनाइएको एन्फा दिवसमा जुमानु राई र अनु लामाले विशेष योगदान दिने खेलाडीको अवार्ड पाएका छन्। नेपालको लागि अन्तर्राष्ट्रिय स्तरमा स्ट्राइकरको भूमिका निर्वाह गरेका दुवैले १५–१५ लाख रुपैयाँ पाएका छन्।
यस्तै महिला राष्ट्रिय टिमका प्रशिक्षक हरि खड्काले उत्कृष्ट प्रशिक्षक हात पारेका छन्। साफ महिला च्याम्पियनसिप आयोजक मोरङ जिल्लाले उत्कृष्ट जिल्ला फुटबल संघको अवार्ड जितेका छन्। लिग च्याम्पियन बनेर एएफसी कप खेलिरहेको मनाङ मर्स्याङ्दी क्लब उत्कृष्ट क्लब घोषित भएको छ। झापाका पुराना प्रशिक्षक भगिरथ आलेलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइएको छ।
किरण चेमजोङ र रोहित चन्दलाई अन्तर्राष्ट्रिय क्षेत्रमा व्यवासियक खेलाडीको अवार्ड दिइएको छ। किरण माल्दिम्स र रोहित इन्डोनेसियामा लिग खेल्छन्। दुवैले गत सिजन आफु आबद्ध क्लबलाई लिगको उपाधि जिताउन उत्कृष्ट खेलेका थिए।
मन्जली कुमारी योन्जन र अभिषेक रिजालले इमर्जिङ खेलाडीको अवार्ड हात पारेका छन् भने लव खत्री र अस्मिता मानन्धरले वर्ष रेफ्रीको अवार्ड जितेका छन्।
गत वैशाख २२ गते कर्माछिरिङ शेर्पाको नेतृत्वमा एन्फाको नयाँ कार्यसमिति निर्वाचित भएको थियो। यहि दिनलाई एन्फा दिवस मनाउने निर्णय गरेको थियो।
पुरस्कृत विधाहरु
विशेष योगदान खेलाडी (पुरुष) अवार्ड – जुमानु राई (१५ लाख रुपैयाँ)
विशेष योगदान खेलाडी (महिला) अवार्ड – अनु लामा (१५ लाख रुपैयाँ)
उत्कृष्ट प्रशिक्षक – हरि खड्का (१ लाख रुपैयाँ र बाइक)
उत्कृष्ट जिल्ला फुटबल संघ – मोरङ जिल्ला फुटबल संघ (१ लाख रुपैयाँ)
उत्कृष्ट क्लब – मनाङ मर्स्याङ्दी क्लब (१ लाख रुपैयाँ)
लाइफ टाइम अचिभमेन्ट अवार्ड – भागिरथ आले (३ लाख ५० हजार रुपैयाँ र बाइक)
अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट व्यावसायिक खेलाडी – किरण चेमजोङ र रोहित चन्द (१–१ लाख रुपैयाँ)
इमर्जिङ खेलाडी (पुरुष) - अभिषेक रिजाल (१ लाख रुपैयाँ र बाइक)
इमर्जिङ खेलाडी (महिला) – मञ्जलीकुमारी योञ्जन (१ लाख रुपैयाँ र बाइक)
उत्कृष्ट रेफ्री (पुरुष) – लव खत्री (१ लाख रुपैयाँ र स्कुटर)
उत्कृष्ट रेफ्री (महिला) – अस्मिता मानन्धर (१ लाख रुपैयाँ र स्कुटर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।