काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले दुई दिनभित्र पार्टी एकीकरणका बाँकी कामलाई पनि पूर्णता दिने बताएका छन्।
अध्यक्ष दाहालले जिल्ला कमिटीहरूको एकीकरणको काम सकिएको दाबी गर्दै जनसंगठनहरूको एकीकरण र नेताहरूको जिम्मेवारी बाँडफाँडको काम पनि २ दिनभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
त्यसका लागि सोमबार पार्टी केन्द्रीय सचिवालय बैठक बोलाइएको पनि अध्यक्ष दाहालले जानकारी दिएका थिए।
आइतबार काठमाडौंमा आयोजित ‘कार्ल मार्क्स : २ सय १ जन्म स्मृति’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले पार्टी एकीकरणको बाँकी काम पूरा हुनेबित्तिकै करिब ८ महिना पार्टीका जिल्ला अधिवेशन सम्पन्न गर्ने योजना पनि अघि सारे।
पार्टीका जिल्ला अधिवेशनहरूमा पार्टी निर्माणका लागि ‘ग्रेट डिबेट’ सञ्चालन गर्ने अध्यक्ष दाहालको भनाइ छ।
अध्यक्ष दाहालले पार्टी निर्माणका लागि ‘ग्रेट डिबेट’मा सहभागी हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।
अध्यक्ष दाहालले पार्टी समाजवादी कित्तामा उभिएकाले त्यसैलाई वैचारिक आधार मानेर पार्टी निर्माणको बहसलाई व्यापक बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।