काठमाडौं- आफ्नो उम्मेदवारी खारेज भएपछि निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै शिवपूजन राय यादव सर्वोच्च अदालत पुगेका छन्।
सर्लाही निर्वाचन क्षेत्र नम्बर-४ मा माओवादी केन्द्रबाट उठेका यादवको उम्मेदवारी आयोगले मंसिर ११ गते खारेज गरेको थियो। उनीमाथि कूटनीतिक राहदानी दुरुपयोगको आरोपमा विशेष अदालतबाट दोषी हुने उजुरी परेको थियो।
त्यसलाई रोक्न अन्तरिम आदेश माग गर्दै यादव मंगलबार सर्वोच्च पुगेका हु्न्।
संविधान र प्रतिनिधिसभा सम्बन्धी कानुनमा अन्तिम अदालतबाट फौजदारी नैतिक पतनको कसुरमा दोषी ठहर भए मात्र उम्मेवार हुन नपाउने व्यवस्था भए पनि त्यसको गलत व्याख्या गर्दै आयोगले यस्तो निर्णय गरेको यादवले जिकिर गरेका छन् ।
विशेष अदालतको फैसला स्वीकार नगरी सर्वोच्चमा पुनरावेदन गरेको अवस्थामा त्यसलाई नै अन्तिम व्याख्या गर्न नमिल्ने उनको भनाइ छ। यादवको रिट न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलाशमा पेशी तोकिएको छ।
आजको सुनुवाइमा सर्वोच्चले अन्तरिम आदेश जारी गरे मात्र उनले निर्वाचनमा भाग लिन पाउनेछन्। अन्तरिम आदेश जारी नभए उनी उम्मेदवार हुनबाट वञ्चित हुनेछन्।
सोही क्षेत्रका स्वतन्त्र उम्मेदवार गणेशकुमार सिंहले जिल्लामा र अर्का स्वतन्त्र उम्मेदवार अनिलकुमार सिंहले निर्वाचन आयोगमै गत कात्तिक १९ गते उजुरी दिएका थिए। सुनुवाइ नभएपछि उनीहरु सर्वोच्चसम्म पुगेका थिए। तर सर्वोच्चलाई आयोगले जवाफ पठाउनुअघि नै उनको उम्मेदवारी खारेज भएको थियो।
राय पहिलो संविधानसभाका सदस्य थिए। कूटनीतिक राहदानी दुरुपयोग गर्दै आएका उनलाई विशेष अदालतले दोषी ठहर गरेको थियो।
सर्लाही-४ मा कांग्रेसबाट अमरेशकुमार सिंह र राजपाबाट राकेश मिश्रले उम्मेदवारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।