काठमाडौं– देशभरि विस्फोट र उम्मेदवारमाथि आक्रमणका घटना बढिरहेका बेला बुधबार बिहानै बालुवाटारस्थित प्रधानमन्त्री शेरबहादुर देउवा निवासको गेटमा बम राखिएको सूचना प्रहरीलाई आयो। तत्कालै प्रहरी अधिकारीहरु बालुवाटार हान्निए।
सेनाको टोलीले प्रधानमन्त्री निवास वरिपरि सबैतिर सर्च गर्यो। चेकजाँच भयो। तीन घन्टा सर्च गर्दा पनि केही भेटिएन। त्यसपछि मात्र सुरक्षाकर्मी ढुक्क भए।
‘गलत सूचनाका कारण टेन्सन भयो, दुःख मात्रै पाइयो,’ महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रहरी नायब उपरीक्षक कुलदीन चन्द भन्छन्, ‘गलत सूचना दिने व्यक्तिहरु खोजिरहेका छौं।’
बम रहेको भनेर प्रहरीले खोज्न थालेपछि प्रधानमन्त्री निवासमा रहेका कर्मचारीहरु समेत आतंकित भएका थिए। एक अनलाइनले प्रधानमन्त्री निवासको गेटमा बम राखिएको समाचार दिएपछि प्रहरीले सर्च गरेको थियो।
मंगलबार मात्र लगनखेल र बालकोटमा विस्फोट भएको थियो। दुवै घटनामा संलग्नहरु पक्राउ परेका छैनन्।
राजधानीभित्रै विस्फोटका घटना बढ्न थालेपछि प्रहरीले नाका र होटलहरुमा चेकजाँचमा कडाइ गरेको छ।
गत हप्ता पनि सर्वोच्च अदालतमा बम राखिएको भनेर एक व्यक्तिले गलत सूचना दिँदा अदालतको इजलाश नै बन्द गरेर भागाभाग भएको थियो।
गलत सूचनाका कारण पटकपटक आफुहरुलाई दुःख भएको प्रहरी अधिकारीहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।