काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अहिलेको सकारले अबलम्बन गरेको परराष्ट्र नीति अपरिपक्व भएको आरोप लगाएको छ।
सरकारको नीति तथा कार्यक्रममाथि संसद्को छलफलमा आइतबार भाग लिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्विपक्षीय र बहुपक्षीय मञ्चहरूमा सरकाले तर्कसंगत रुपमा आफ्ना कुरा राख्न नसकेको बताए।
‘यो सरकार नेपालको आवश्यकता, स्वार्थ र अधिकारलाई द्विपक्षीय र बहुपक्षीय मञ्चहरूमा तर्कसंगत रुपमा राख्न सकिरहेको छैन्,’ देउवाले भने, ‘यसकारण हाम्रो परराष्ट्र नीति अपरिपक्व देखिएको छ। बिमस्टेक, होली वाइन र भेनेजुयला काण्ड यसका ज्वलन्त उदाहरण हुन्।’
सरकारको फितलो परराष्ट्र नीति संचालनकै कारण अन्तर्राष्ट्रिय विश्वसनीयता र विदेशी लगानीमा समेत प्रतिकुल असर परेको दाबी देउवाको छ।
‘सरकारको यस्तो फितलो परराष्ट्र नीति सञ्चालनका कारण अन्तर्राष्ट्रिय विश्वसनीयता र विदेशी लगानीमा समेत प्रतिकुल असर परेको हाम्रो ठहर छ,’ उनले भने।
संसदमै भएको छलफलमा कांग्रेस नेता मिनेन्द्र रिजालले पनि पराष्ट्र नीतिले सन्तुलन गुमाउँदै गएको टिप्पणी गरे। ‘पराष्ट्र नीतिले सन्तुलन गुमाउँदै छ,’ उनले भने, ‘ध्यान रहोस् सरकार, सन्तुलन गुम्यो भने हामी धेरै खतरामा पर्छौं।’
सरकारले विदेश नीतिको गलत प्रयोग गरेको आरोप लगाउँदै उनले त्यही कारण लगानी सम्मेलनमा विदेशी प्रतिनिधिको राम्रो प्रतिनिधित्व नभएको समेत दाबी गरे।
‘विदेश नीति जुन किसिमले प्रयोग भयो,’ उनको भनाइ छ, ‘लगानी सम्मेलनमा कुन–कुन देशका कुन–कुन प्रतिनिधिको उपस्थिति थियो? सम्झनुहोस्।’
रिजालले सबैबाट फाइदा लिनुपर्ने बताए। ‘हामी चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ बाट पनि फाइदा लिने हो,’ उनले भने, ‘हामी अमेरिकाको ‘कम्प्याक्ट ग्रान्ड’बाट पनि फाइदा लिने हो। भारत हाम्रो छिमेकी हो, त्यसबाट पनि हामीले आर्थिक विकासका लागि सहायता लिने हो।’
सरकारले विदेशीलाई उपदेश मात्रै दिइरहेको बताउँदै रिजालले यसले परराष्ट्र नीति बलियो नहुने टिप्पणी गरे।
‘हामीले उपदेश दिन कसलाई छोड्यौं ?’, उनको भनाइ छ, ‘भारत, अमेरिका, पश्चिमा... सबै विदेशीलाई उपदेश दिएर पराष्ट्र नीति बलियो हुँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।