काठमाडौं- राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयाेजक शरतसिंह भण्डारीले नीति तथा कार्यक्रमलाई झुटको दस्ताबेजको संज्ञा दिएका छन्। उनले नीति तथा कार्यक्रम पढ्दै जाँदा 'कन्फ्युज' भइने बताए। 'कन्फ्युज' बनाउनु पनि सरकारको एउटा नीति रहेको उनको भनाइ थियो।
'नीति तथा कार्यक्रममा संविधानकाे सर्वस्वीकार्यता विषयबाट झुट बाेल्न सुरु भएको छ', उनले भने। प्रतिनीधिसभाको तेस्रो र चौथो दल नै संविधान संशोधनको पक्षमा रहेको उनले स्मरण गराए। संघीय समाजवादी फोरम सरकारमा रहेर पनि थाहा छैन भन्नु लाजमर्दो रहेको भन्दै उनले कटाक्ष गरे। आफ्नै नीतिविपरीत नीति तथा कार्यक्रम तय भएकाे थाहा नपाउने अवस्था रहे फाेरमलाई सरकार छाड्नसमेत नेता भण्डारीले सुझाए।
सरकारले लगानी सम्मेलनलगायत विभिन्न कार्यक्रम उल्लेख गरेको तर ‘होली वाइन सम्मेलन’ उल्लेख नगरेको भन्दै कटाक्ष गरे। उनले भने, ‘लगानी सम्मेलनबाट लगानी आउला, नआउला। तर, होली वाइन इन्डष्ट्रीबाट धर्म परिवर्तनको लगानी आउनेवाला छ।’
आफू धर्म निरपेक्षताकाे हिमायती रहेको बताउँदै जबर्जस्ती धर्म परिवर्तन गर्ने कुरा सह्य नहुने उनकाे भनाइ थियाे।
सरकार विखण्डनको अन्त्य गर्न लागिपरेको बताइरहे पनि विभेद कायम राखिरहेको नेता भण्डारीकाे आराेप लगाए। विभेदको समाप्ति भएमा मात्रै विखण्डनको कुराको अन्त्य हुनसक्ने उनकाे विश्वास छ।
नेता भण्डारीले आफ्ना नेता रेशम चौधरीको प्रसंग उठाउँदै भने, ‘एक आन्दोलनकारी जेल बसेको छ। थारुको छोरो हकअधिकारको आन्दोलन गर्दा जेल बस्नुपर्छ। अरु आन्दोलनबाटै आएकाहरु यहाँ बसिरहेका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।