फाइल तस्बिर
काठमाडौं– राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नीति तथा कार्यक्रम 'भाङ खाएर लेखिएजस्तो' देखिएको बताएका छन्। नीति तथा कार्यक्रमको बुँदा नं ७ मा लेखिएको संविधानको सर्वस्वीकार्यतामाथि असहमति जनाउँदै उनले यस्तो कटाक्ष गरेका हुन्।
आफूले उक्त बुँदामा संशोधन चाहेको भन्दै उनले प्रश्न गरे, ‘संविधानको सर्वस्वीकार्यरतामा विमति छैन? कसैको विमति छैन? कहिल्यै विमति भएन? कसरी लेखियो यो कार्यक्रम? आधा निद्रामा लेख्या हो कि कसो?’
संविधान संशोधनको पक्षमा पचासौं पटक कुरा उठेको बताउँदै भने, ‘प्रचण्डजी यहीँ बसिराख्नुभएको छ। संविधानमा नोट अफ डिसेन्ट लेख्ने सरकारी पक्ष (उहाँ)ले नै हो। उहाँहरु (माओवादी केन्द्र) संशोधनका लागि लडेको हामीसँगै हो।’
संविधानमा विमति जनाएरै धेरेले ज्यान गुमाएको उनले स्मरण गराए। मधेश आन्दोलन पनि बिमतिको एउटा रुप भएको उनकाे भनाइ छ। उनले भने, ‘जे मन लाग्यो, त्यही लेख्दिने। यो त गजब भइगो!’
आफूले सरकारलाई समर्थन दिँदा संशोधनका लागि सहमति गरेको स्मरण गराउँदै उनले संविधानको विपक्षमा ६०/६५ प्रतिशत मत आएको बताए। नेता महताेले भने, ‘यो संविधान स्वीकार गरिएको छैन। पूर्ण सहमति छैन।’
नीति तथा कार्यक्रममा उक्त कुरा संविधान नै संशोधन नगर्ने नियतका साथ लेखिएको भन्दै उनले आशंका जताए। उनले भने, ‘के संविधान बाइबल, गीता, पुराण, महाभारत भइसक्यो। त्यसो हो भने यो संविधान गइजान्छ। बाइबाइ भइहाल्छ।’
यही कारणले दुनियाँको उत्कृष्ट संविधान भनिएको २०४८ को संविधान गएको नता महताेकाे दाबी छ। उनले सरकारलाई अहंकार छाड्न सुझाए। उनले संविधान संशोधन जनताको मागअनुसार गरेर सर्वस्वीकार्य बनाउन आग्रह गरे। बुँदा ७ मा संशोधन गर्ने वाक्य सुझाए, ‘संविधानको सर्वस्वीकार्यरता र पूर्णत दिन संविधान संशोधन गरिनेछ लेख्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।