काठमाडौ- निर्वाचन आयोगले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तस्बिरसहित ‘पार्टीको निर्वाचन चिह्नमा मतदान गरौं’ भनी विज्ञापन प्रकाशित गरेको विषयमा २४ घन्टाभित्र स्पष्टीकरण पेश गर्न एमालेलाई निर्देशन दिएको छ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आचारसंहिता विपरीत ‘कान्तिपुर’, ‘अन्नपूर्ण पोस्ट’, ‘नयाँ पत्रिका’, ‘नागरिक’ र ‘राजधानी’ दैनिक लगायत पत्रिकामा विज्ञापन छपाएको जनाउँदै आयोगले एमालेलाई स्पष्टीकरण सोधेको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए।
एमालेलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ, 'पार्टी अध्यक्ष केपी शर्मा ओलीको तस्बिरसहित पार्टीको निर्वाचन चिह्नमा मतदान गरौं भनी विज्ञापन प्रकाशित भएको विषयमा आयोगको ध्यानाकर्षण भएको छ। उक्त कार्य निर्वाचन आचारसंहिता विपरीत भएको देखिँदा यहाँलाई कारबाही हुनुपर्ने हो, होइन? पत्र प्राप्त भएको मितिले २४ घन्टाभित्र स्पष्टीकरण पेश गर्नुहुन अनुरोध छ।'
पाँच दैनिक पत्रिकालाई पनि
आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आचारसंहिता विपरीत विज्ञापन प्रकाशन गरेको भन्दै पाँच दैनिक पत्रिकासँग पनि स्पष्टीकरण सोधेको छ।
‘कान्तिपुर’, ‘नागरिक’, ‘अन्नपूर्ण पोस्ट’, ‘नयाँ पत्रिका’ र ‘राजधानी’ दैनिकले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको तस्बिरसहित उक्त पार्टीको निर्वाचन चिह्नमा मतदान गरौँ भनी विज्ञापन प्रकाशित गरेको भन्दै २४ घन्टाभित्र स्पष्टीकरण पेश गर्न ती दैनिक पत्रिकालाई निर्देशन दिइएको हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।