सालझन्डी– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसले राणा शासन र राजाको तानाशाही व्यवस्था फालेर ल्याएको लोकतन्त्र अहिले पुनः वाम गठबन्धनको नाममा संकटमा परेको भन्दै लोकतन्त्र बचाउनकै लागि भए पनि कांग्रेसलाई बहुमत दिन आग्रह गरेका छन्।
रुपन्देही निर्वाचन क्षेत्र-५ को सालझण्डीमा मंगलवार आयोजित चुनावी सभामा देउवाले भने, 'मुलुक दुई ध्रुवमा विभाजित भएको छ। वाम गठबन्धनको नाममा कम्युनिस्ट तानाशाही शासन व्यवस्था लाद्न खोज्ने नेकपा एमाले र माओवादी केन्द्रको दुष्प्रयास कुनै पनि अवस्थामा पूरा हुन नदिन जनता सचेत हुनुपर्ने समय आयो।'
उनले विश्वमा कम्युनिस्ट तानाशाही शासन व्यवस्था सफल नभएको भन्दै नेपालमा वाम गठबन्धनका नाममा लोकतन्त्र समाप्त गर्न भइरहेका प्रयास कदाचित सफल नहुने दाबी गरे।
अधिकांस समय वाम गठबन्धनमाथि आरोप लगाउनमै खर्चिएका देउवाले भने, 'अहिलेको निर्वाचनले जनताको भाग्य निर्धारण गर्नेछ। कम्युनिस्टहरु झुटा नारा लगाएर कम्युनिस्ट शासन लाद्न खोज्दैछन्।'
उनले कांग्रेसको नेतृत्वमा आएको संविधान कार्यान्वयनको दिशामा अघि बढेका बेला बाम गठबन्धनले राजनीतिक विवाद र अस्थीरता ल्याएर भत्काउने प्रयास गरेको आरोप लगाए।
कांग्रेस महामन्त्री शशांक कोइरालाले बिपीले देखेका सपना पूरा गर्ने समय आएको बताउँदै लोकतन्त्रका माध्यमबाट आर्थिक क्रान्ति गरेर देशलाई सम्बृद्ध बनाउने र जनतालाई धनी बनाउने कांग्रेसको अभियानमा साथ दिन आग्रह गरे।
यसैगरी, उद्योगपति विनोद चौधरीले २०४८ सालमा बनेको कांग्रेस सरकारले ल्याएको आर्थिक नीतिले देशलाई अहिलेसम्म पनि विकासको गतिमा डोहोर्याएको बताए। अझै अधुका रहेका विकासका काम कांग्रेसलाई नै बुहुमत दिएर पूरा गर्न सकिने चौधरीको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।