भद्रपुर : काँकडभिट्टामा आयोजना भएको मेची नेत्रालय मेचीनगर गोल्डकपको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ। शनिबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा पराजित गर्दै नेपाल पुलिस क्लब विजेता बनेको हो।
विजेता पुलिस क्लबले रु १० लाख एक हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता त्रिभुवन आर्मीले रु पाँच लाख एक हजार नगद पुरस्कार पाएको छ । निर्धारित ९० मिनेटभर दुवै टिमबाट गोल हुन नसकेपछि टाइब्रेकरमा खेलाइएको थियो । तर टाइब्रेकरमा समेत ३–३ गोल बराबर भएकाले सडनडेथबाट खेलको निर्णय गरिएको थियो ।
सडनडेथमा पुलिसका खेलाडी मानबहादुर परियारले प्रहार गरेको बल त्रिभुवन आर्मी क्लबका गोलरक्षक विकेस कुथुलाई ठोक्किँदै जाली चुमेको थियो । परियारको निर्णायक गोलको मद्दतले पुलिसले उपाधि हात पारेको हो ।
बेस्ट प्लेयर अफ द टुर्नामेन्टको उपाधि पाएका पुलिस क्लबका रवि पासवानले रु एक लाख एक हजार पुरस्कार पाए। वैशाख १२ गतेदेखि शुरु भएको प्रतियोगितामा आयोजकसहित पुलिस, आर्मी, सङ्कटा, च्यासल, सुनसरी ११, माइभ्याली क्लब इलाम, पारो एफसी भूटान, क्यामरुनको दाउफिन्स एफसी र रुस्लान थ्री स्टार क्लबले प्रतिष्पर्धा गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।