कपिलवस्तु- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनले विश्वबाटै अन्त्य भएको साम्यवाद ल्याउन खोजेको आरोप लगाएका छन्।
कपिलवस्तुको तौलिहवामा मंगलबार कांग्रेस जिल्ला कार्यसमितिले गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले अबको युग सबैको अधिकार सुनिश्चत गर्ने भनेको प्रजातान्त्रिक समाजवादको जमाना भएकाले कसैको धाक–धम्कीले अधिनायकवाद नआउने बताए।
कांग्रेसले लोकतन्त्रलाई बलियो बनाई निमुखा जनताको अधिकार सुनिश्चत गर्ने उनको भनाइ थियो।
'सुकुम्बासी समस्या, गरिबी, बेरोजगारी समस्याको समाधान कांग्रेसले गर्नेछ', उनले भने।
नेता पौडेलले कपिलवस्तु जिल्लाको समग्र विकासमा नेपाली कांग्रेसले नेतृत्व लिँदै पर्यटनको विकासबाट काँचुली फेर्ने दाबी समेत गरे।
सभालाई सम्बोधन गर्दै कांग्रेसका महामन्त्री शशांक कोइरालाले देशको विकास र कांग्रेसको इतिहास सम्झेर भोट दिन आग्रह गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।