काठमाडौं– एमालेको अध्यक्ष केपी ओलीले साझा विवेकशील पार्टी फुटबल मैदानमा खेल सिक्न आएको दर्शक भएको टिप्पणी गरेका छन्।
विवेकशीलका उम्मेदवार रवीन्द्र मिश्रलाई लक्षित गर्दै ओलीले मेस्सीले गोल हानेको बल खेल्दैमा खेल नजितिने टिप्पणी गरे।
निर्वाचन आर्कषणको केन्द्र भएकाले मिश्रले बिबिसीको जागिर छाडेर काठमाडौं क्षेत्र नम्बर १ को प्रतिस्पर्धामा उत्रेको आरोप लगाउँदै ओलीले चुनावी प्रतिस्पर्धा अरुले लेखेको समाचार पढ्नु जति सहज नभएको टिप्पणी गरे।
‘खेलाडीहरु खेल मैदानमा खेलिरहेका हुन्छन्, हेर्न र सिक्न चाहने छेउमा बसेका हुन्’ ओलीले भने, ‘प्रकाशमान सिंहले संयुक्त राष्ट्रसंघ पुगेर नाकाबन्दी छैन भन्नुभयो, ‘यहाँ चुलो नबलेको उहाँलाई थाहै भएन, मान्छे राम्रो देखेर हुँदैन।’
ओलीले काठमाडौं क्षेत्र नम्बर १ का वाम गठबन्धनका उम्मेदवार अनिल शर्मालाई भोट मागेका थिए। उनले शर्मालाई भोट दिएर पठाउन आग्रह गर्दै आफूले विकास दिने बताए।
शर्मालाई कलिलो भनेर गरिएको टिप्पणी प्रति ओलीले आफू परिपक्व भएको जवाफ दिए। ‘मैले धेरै हेरेर र विचार गरेर मात्र शर्मालाई उम्मेदवारमा उठाएको हुँ’, ओलीले भने, ‘काम गर्ने जोश भएको व्यक्तिलाई यस क्षेत्रमा पठाएको हुँ।’
यो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह र विवेकशीलका उम्मेदवार रवीन्द्र मिश्रका बीचमा प्रतिस्पर्धा भएको टिप्पणीप्रति ओलीले असन्तुष्टि व्यक्त गर्दै वाम गठबन्धनका उम्मेदवार विजयीनजिक रहेको बताए।
‘बिपी र गणेशमान लागेको कांग्रेस पार्टीको यति कन्तविजोग होला भन्ने मैले सोचेको थिइनँ’, ओलीले भने, ‘कांग्रेस अब पनि यो देशमै छ र भन्ने अवस्थामा पुगेको छ।’
ओलीले नागपास खेलझैं सयमा पुग्न खोज्दा कांग्रेस ९९ हुँदै पुनः तल आइपुग्ने दाबी गरे।
वामपन्थीको विरोधमा आँसु खसालेर अब काम नलाग्ने भन्दै ओलीले संविधान लेखनदेखि निर्वाचनसम्म कांग्रेसको एजेण्डा नभएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।