काठमाडौं- नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रलाई मात्रै महत्व दिएको भन्दै आपत्ति जनाएको छ। प्रधानमन्त्री ओलीका जिल्लावासी समेत रहेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओली दमकको मात्रै प्रधानमन्त्री हो भन्दै प्रश्न गरेका छन्।
शर्माले निर्वाचन क्षेत्र १६५ र स्थानीय तह ७५३ भएको प्रधानमन्त्रीलाई स्मरण गराए। ‘प्रधानन्त्रीलाई के हेक्का रहोस् भने उहाँ दमकको मात्रै प्रधानमन्त्री होइन। नेपाल देशको प्रधानमन्त्री हो,’ नेपाल लाइभसँग कुरा गर्दै उनले भने।
आफ्नो निर्वाचन क्षेत्रलाई मात्रै महत्व दिएर योजना पार्नका लागि राष्ट्रिय योजना आयोगलाई पत्र काटेकोमा शर्माले आपत्ति जनाए। ‘१६५ निर्वाचन क्षेत्रमा झापा क्षेत्र नम्बर ५ र ७५३ निकायमा दमक मात्रै स्थानीय निकाय होइन,’ उनले भने।
बुद्धको सबैभन्दा अग्लो मूर्ति दमकमै किन बन्नुपर्ने भन्दै उनले प्रश्न गरेका छन्। दमक नगरपालिकामा ५ हजारभन्दा बढी सुकुम्वासी रहेको उल्लेख गर्दै शर्माले भने, ‘तिनको लागि एउटा सानो छानो बनाउने भन्दा देशको ढुकुटीको अर्बौं रुपैयाँ लगेर सपिङ मल र भ्युटावर बनाउन लागिएको छ।’ संसारका श्रमिक एक हौं भन्ने प्रधानमन्त्रीले दमकका श्रमिकका हितका बारेमा नसोचेको भन्दै असन्तुष्टि व्यक्त गरे। ‘यो सुकम्वासी र गरिबीमाथिको व्यंग्य हो कि होइन?’ उनको प्रश्न छ।
भूकम्प संग्रहालय मुख्य प्रभावित जिल्लामा नबनाई दमकमा बनाउन लागिएको प्रति भने शर्माले आपत्ति जनाएका छन्।
झापाकै बाहुनडाँगीमा हात्तीको आक्रमणबाट सर्वसाधारणको ज्यान गएको प्रति प्रधानमन्त्रीको चिन्ता नभएकोमा उनले दुःख व्यक्त गरे।
आर्थिक वर्ष ०७६/७७ को योजनामा झापा क्षेत्र नम्बर ५ का योजनालाई समावेश गर्न प्रधानमन्त्री कार्यालयले राष्ट्रिय योजना आयोगलाई पत्र लेखेको थियो। ८८ वटा आयोजनालाई प्राथमिकतामा राख्न भन्दै चैत २९ मा पत्र काटिएको छ।

डिपिआर तयार भएका २१ आयोजना बजेटमा समावेश गर्न पनि योजना आयोगका लागि पत्र पठाइएको छ। अन्य आयोजना चालू तथा नयाँ छन्। खानेपानी तथा सरसफाइ, सहरी विकास, संघीय मामिला तथा प्रशासन मन्त्रालय अन्तर्गतका विभिन्न परियोजनाको लागि बजेट नै निश्चित गरी माग गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।