काठमाडौं- सुमोमा ३१ किलो गाँजा बोकेर सवार भएका एक भारतीय नागरिकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतीय नागरिक बिहार मुजफ्फरपुर सदातपुर–८ का २६ वर्षीय राजकुमार यादव छन्। उनी ३१ किलो गाँजा बोकेर बिआर २९७५६५ नम्बरको सुमो गाडीमा सवार थिए।
सुमोमा सवार उनलाई हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले गएराति पक्राउ गरेको हो। सुमोको पछाडीको नम्बर प्लेट राख्ने भागमा फल्स बटम बनाई लुकाएर ४ वटा पोका बनाएर राखेको अवस्थामा ३१ किलो गाँजा बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ।
गाँजा र सुमो दुबैसहित यादवलाई नियन्त्रणमा लिइएकाे र उनीमाथि 'लागुऔषध नियन्त्रण ऐन, २०३३' बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, मकवानपुरबाटै लागुऔषधसहित ललितपुरका ३७ वर्षीय सञ्जय महर्जन पक्राउ परेका छन्। प्रहरीले उनको साथबाट लागुऔषध डाइजेपाम ३० एम्पुल, नुर्फिन ३० एम्पुल र फेनार्गन ३० एम्पुल बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।