बेनुका राई एक समय श्रोतामाझ छाइसकेकी गायिका हुन्। राष्ट्रिय गान गाउन छानिएकीमध्ये एक प्रतिभा समेत हुन्। तर, अहिले उनी दयाहाङ राईकी जीवनसंगिनीका रुपमा बढी चिनिन्छिन्।
उनी त्यो समय आफूलाई गायिकाका रुपमा स्थापित गरिसकेकी थिइन्, जुन समय अभिनेता राई चर्चामा थिएनन्। त्यही बेला नै उनको ‘आऊ न ठूले फर्की आऊ’ बोलको गीत चर्चित थियो र दुइटा एल्बम निकालिसकेकी थिइन् ।
तर, लामो समय उनको स्वर नेपाली श्रोताले सुन्न पाएनन्, राष्ट्रगान बज्दा बाहेक। भर्खरै उनको एउटा म्युजिक भिडियो सार्वजनिक भएको छ, ‘जोगिया’। नाटक लेखक तथा निर्देशक सोमनाथ खनालले फरक शैलीमा बनाएको म्युजिक भिडियो मात्रै धेरैका आँखामा जँचेको छैन, बेनुकाको सुरिलो स्वर पनि रुचाइएको छ। युट्युबमा उनलाई हेर्ने र सुन्नेले प्रशंसा गरिरहेका छन्। धेरैलाई लागेको छ– बेनुका फेरि गायनमा फर्किइन्।
फर्किहालेको भन्नुभन्दा पनि फर्किने सुर कसेको भन्न चाहिँ मिल्छ। किनभने यो गीत उनले आजभन्दा पाँच वर्षअघि नै रेकर्ड गराएकी थिइन्।
‘तर, म्युजिक भिडियो भने भर्खर बनाउने मौका जुर्यो। त्यसैले त्यो बेला प्रमोसन गरिएन’, उनी भन्छिन् ।
यो बिचको समयमा पनि उनी संगीतभन्दा टाढा थिइनन्। ललितकलामा म्युजिक पढिरहेकी उनले भर्खरै मात्र स्नातकोत्तर पास गरिन्। उता अभिनेता श्रीमान् दयाहाङ राईको व्यस्तता बढेपछि उनले स्टेज र स्टुडियोतिर गाउने अफर भने हाप्नुपरेछ।
‘सन्तान हुर्काउनु थियो। पढाइ पूरा गर्नु थियो, त्यसैले समय दिन सकिनँ’, उनी भन्छिन्।
पछिल्लो समय भने पारिवारिक जिम्मेवारीमा केही खुकुलोपन आएको छ। उनले फेरि स्टेज कार्यक्रम र रेकर्डिङका प्रस्ताव स्विकार्न थालेकी छिन्। ‘दुइटा कार्यक्रमका लागि साइन गरिसकेँ’, नेपाल लाइभसँग कुरा गर्दै भनिन्, ‘पहिला जस्तै गरी नभए पनि रेकर्डिङ गर्ने विचार छ।’
लामो समय छुटेको संगीत क्षेत्रको सुरताल पक्रन सकिन्छ त? भन्ने प्रश्नमा उनले भनिन्, ‘सक्छु भन्ने आत्मविश्वास छ। शुभचिन्तक बढेका छन्। अझ सजिलो हुन्छ होला।’
अभिनेता श्रीमान् दयाहाङ राईलाई अघि बढाउन जानीजानी आफ्नो सांगीतिक करिअरको बलिदान गरेकी उनमा संगीतको तिर्खा मेटिएको छैन। तर, स्टार गायिका बन्ने लोभबाट भने मुक्त भइसकेकी छिन्। उनलाई लाग्छ, ‘संगीतको साधना गर्न पाइयोस्। तर, जसरी हुन्छ हिट हुने चाहना पहिले पनि उति थिएन। अहिले त छँदै छैन।’
पुरानो गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक भएपछि उनको प्रशंसा गर्नेहरु बढेका छन्। आफ्नो प्रतिभालाई किन मारेको भनेर प्रश्न गर्ने बढेका छन्। उनको उत्तर दयाहाङ राई छन्।
‘एक जनाले घर चलाएन भने अर्काे कसरी अघि बढ्थ्यो ?’ उनी भन्छिन्। आफ्नो निर्णय सुझबुझपूर्ण रहेको उनलाई लाग्छ।
अहिले भने उनलाई लागेको छ, ‘संगीतमा फर्किने सही समय आयो।’
बजारले कस्तो प्रतिक्रिया दिन्छ भनेर पुरानो गीतको म्युजिक भिडियो पस्केर ‘ट्रेलर’ देखाएको हो?
उनले जवाफमा केही भनिनन्, केवल सहमतिसूचक हाँसो हाँसिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।