पूर्व ‘मिस नेपाल’ फस्ट रनर–अप नग्मा श्रेष्ठ आफ्नै पहलमा यस पटक अमेरिकाको लस भेगासमा हुन लागेको ‘मिस यूनिभर्स’मा सहभागिता जनाउँदै छिन्। यो प्रतियोगितामा भाग लिन उनी दुई साताअघि अमेरिका पुगेकी थिइन्।
‘मिस यूनिभर्स’ आउँदो आइतबार हुँदैछ। यसको तयारीका लागि नग्माले निकै संघर्ष गरेकी छिन्। उनको संघर्षले उचित स्थान पाउँछ कि पाउँदैन, त्यसका लागि नेपाली समर्थकले आइतबारसम्म कुर्नुपर्नेछ।
अमेरिकाबाट शुक्रबार नेपाल लाइभलाई अन्तर्वार्ता दिने क्रममा नग्माले भनिन्–‘यहाँ (अमेरिका) आएपछि ममा आत्मविश्वास झन् बढेको छ। अन्य देशका प्रतिस्पर्धीभन्दा आफूलाई कम देखिरहेकी छुइनँ।’

नेपालले अहिलेसम्म सुन्दरी प्रतियोगिताको ठूलो स्पर्धामा कुनै उपाधि हात पारेको छैन। यस अवस्थामा नग्माले अन्य देशका प्रतिस्पर्धीसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने पक्का छ।
उनी भन्छिन्, ‘प्रशिक्षणका क्रममा मैले कुनै कसर बाँकी राखेको छैन। ब्युटी कन्टेस्टको विभिन्न क्रियाकलापमा राम्रो रेस्पोन्स पाइरहेको छु। त्यसैले कुनै अवार्ड जित्छु जस्तो लागिरहेको छ।’
सुन्दरी प्रतियोगितामध्ये ‘मिस यूनिभर्स’ ‘मिस वर्ल्ड’ पछि दोस्रो ठूलो मानिन्छ। नेपाल पहिलो पल्ट यो प्रतियोगितामा भाग लिँदैछ। नग्माको यो चौथो अन्तर्राष्ट्रिय सहभागिता हो। उनले यसअघि ‘मिस अर्थ’, ‘मिस युनिभर्सिटी’ र ‘मिस इको युनिभर्स’ प्रतियोगितामा भाग लिइसकेकी छिन्।
‘मैले यसअघि पनि केही अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगितामा भाग लिएकाले त्यति नभर्स छुइनँ’, उनले सुनाइन्, ‘यहाँ बिस्तारै सबै राम्रो भइरहेको छ।’

२०१२ मा ‘मिस नेपाल’ को रनर–अप भएदेखि नै नग्माको चर्चा चुलिएको थियो। ६६औं ‘मिस यूनिभर्स’ मा उनले स्विमसुट राउन्डलगायत केही स्पर्धामा भाग लिइसकेकी छिन्। उनले शुभेच्छुकहरुसँग आफ्नो लागि भोटिङको अपिल समेत गरिसकेकी छिन्।
‘मिस यूनिभर्स’ मा ९२ देशका सुन्दरीले भाग लिएका छन्। यो स्पर्धाको फाइनल चरणका लागि भोटिङमा पहिलो हुने सुन्दरीले सीधै टप १६ मा स्थान पाउने नियम छ। अन्य १५ सुन्दरीको चयन ‘मिस यूनिभर्स’ को निर्णायक मण्डलीबाट हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।