काठमाडौं- आइपिएल क्रिकेटमा सनराइजर्स हैदरावादले किंग्स ११ पञ्जावलाई ४५ रनले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेको हैदरावादले ६ विकेटको क्षतिमा २ सय १२ रन जोड्यो। उसका लागि डेभिड वार्नरले ८१ रनको योगदान दिए। उनले ५६ बलमा ७ चौका र २ छक्का हिर्काए। मनिष पाण्डेले ३६ रन जोडे भने केन विलियमसनले २० र ऋद्धिमान साहले २८ रन बटुले। बलिङमा पञ्जावका मोहमद सामी र रविचन्द्रन आस्विनले २-२ विकेट लिए।
२ सय १३ रनको लक्ष्य पछ्याएको पञ्जावले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६७ रन मात्र जोड्न सक्यो। पञ्जावका लागि केएल राहुलले ७९ रन जोडे। ५६ बलमा उनले ४ चौका र ५ छक्का प्रहार गरे। मयंक अग्रवालले २७ रन र पुरनले २१ रन जोडे। बलिङमा खलिल अहमेद र रसिद खानले ३-३ विकेट लिए। सन्दीप शर्माको नाममा २ विकेट रह्यो।
जितपछि हैदरावाद १२ खेलबाट १२ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ। जितले हैदरावादको प्लेअफ पुग्ने सम्भावना बलियो बनेको छ। पञ्जाव १० अंक जोड्दै छैटौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।