काठमाडौं- कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई १३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा धादिङ रुबिभ्याली गाउँपालिका-२ बस्ने ५९ वर्षीय बमबहादुर विक, सोही ठाउँ बस्ने ३४ वर्षीय हेम डल्ला विक र ४० वर्षीय साकर्की विक छन्।
उनीहरुमध्ये बमबहादुर आइतबार धादिङ तिप्लिङ कामीगाउँबाट, हेम आइतबार रसुवाको आमा छोदुङ गाउँपालिका-५ प्राजुङबाट र साकर्की गत बुधबार काठमाडौं गौशालाबाट पक्राउ परेका हुन्।
जिल्ला अदालत धादिङको २०७४ मंसिर १९ गतेको फैसला अनुसार कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका बमबहादुरलाई २० वर्ष, हेम डल्लालाई २० वर्ष र सार्कीलाई २ वर्ष कैद सजाय तोकिएको थियो।
विक समेतका ८ जनाले २०६३ कार्तिकमा धादिङ तिप्लिङ कामीगाउँ बस्ने २७ वर्षीय देवबहादुर विकलाई देउसी खेल्न जाउँ भन्दा बिरामी भएकोले नमानेको कारण कुटपिट गरी घाइते बनाएको थिए।
पछि उपचारको क्रममा उनको मृत्यु भएको थियो। मृत्यु भएपश्चात् उनीहरुले शवलाई सोही ठाउँको चिमडाँडामा लगेर जलाई नष्ट गरेका थिए।
त्यसपछि उनीहरु फरार भएका थिए।
धादिङ जिल्ला अदालतकै फैसलाले घटनामा संलग्न धादिङ रुबिभ्याली गाउँपालिका-२ बस्ने ४५ वर्षीय पुर्ण बहादुर विक २०६४ भदौ ११ गते र सोही ठाउँ बस्ने ३१ वर्षीय मंगले कामी भन्ने डिल बहादुर विक २०७३ जेठ ३ गते पक्राउ परी कारागार चलान भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।