बेगुसराय– दिल्लीकी २४ वर्षीया स्वाती अप्रिल ७ देखि बेगुसरायमा छिन्। उनी पहिलोपल्ट यहाँ आइपुगेकी हुन् र हरेक दिन बिहान आठ बजेबाट यहाँका गाउँमा चुनाव प्रचारका लागि खटिइरहेकी छिन्।
उनी बेगुसरायमा आउन लागेका बेला उनका आमाबुवाले बिहारको छवीलाई लिएर डर देखाएका थिए। तर, उनलाई यसले त्यति धेरै फरक परेन। स्वाती भन्छिन्, ‘मेरा आमाबुवा दक्षिणपन्थी विचारसँग निकट छन्। तर, कांग्रेस विरोधी भएकाले मोदीलाई समर्थन गर्छन्।’
बिहारलाई लिएर स्वातीले आफ्ना आमाबुवाले दिएकाे चेतावनी सुनेको नसुन्यै गरिदिइन् र आमाबुवाको भन्दा फरक बाटाे अँगालेर बेगुसराय पुगिन्। स्वाति भन्छिन्, ‘मलाई बेगुसराय राम्रो लागिरहेको छ। यहाँ बिजेपी र लेफ्टिस्ट बीच सीधा लडाइँ छ। देशभरबाट विद्यार्थी आएका छन्। सबैको मनमा एक खालको आशा छ। यही आशाको सहारामा हामी यति दिनदेखि यहाँ छौं।’
स्वातीका अनुसार चुनावको प्रचारका क्रममा एक गाउँमा केही व्यक्तिले उनको जात सोधे। उनी भन्छिन्, ‘एक महिलाले मेरो जातका बारेमा आफ्नो भाषामा सोधेकी थिइन्। यहाँको चुनावमा जितहारका लागि जातिको भूमिका महत्वपूर्ण देखिन्छ।’

केरलाकी अपर्णा अप्रिल ९ देखि बेगुसरायमा छिन्। अपर्णाको मनमा पनि बिहारको छबी राम्रो थिएन। उनी भन्छिन्, ‘यहाँ आएपछि बिहारका विषयमा मेरो मनमा रहेको धारणा परिवर्तन भएको छ।’
अपर्णाका अनुसार यहाँका मान्छे राजनीतिक रुपमा निकै जागरुक छन्। यहाँ मान्छेलाई कुन उम्मेदवार कस्तो छ भन्ने पनि थाहा छ। उनी भन्छिन्, ‘यहाँसम्म कि अनपढ महिलालाई पनि यो कुरा थाहा छ। यहाँ जे म बोल्छु, त्यो सुनिदिन्छन् र सवाल पनि गर्छन्। कतिपय अवस्थामा असहमति पनि प्रकट गर्छन्।’
अपर्णा केरालाबाट बेगुसरया किन आइन्? जवाफमा उनी भन्छिन्, ‘यो सरकारमा विपक्ष कमजाेर देखिएकाे छ। कन्हैयाले विपक्षीको खाली ठाउँ भरेका छन्। यो धेरै महत्वपूर्ण कुरा हो। विश्वास गर्नुहोस्, बेगुसराय इतिहास रच्न गइरहेको छ।’
अपर्णा यो कुरालाई मान्छिन् कि भारतको चुनावी राजनीतिमा गरिएका प्रतिबद्धतामा कसैलाई भरोसा हुँदैन। उनका अनुसार बिहारमा मान्छेहरु खुसी देखिन्छन् र रिसाइरहेका छैनन्। उनी भन्छिन्, ‘आफ्नो राज्य केरालासँग बिहारको तुलना गर्दा लाग्छ कि यहाँ फोहर धेरै छ। तर, यस्तो लाग्दैन कि मान्छेहरुलाई फोहर राम्रो लाग्छ। भयाबह गरिबीका कारण उनीहरु फोहरमा रहन बाध्य छन्।’
दीपा कलेजमा पढाउँछिन र दिल्लीकी हुन्। दीपा पनि बेगुसरायमा दुई हप्तादेखि छिन्। उनी पनि कुनै ठेट राजनीतिक प्रचारक होइनन्। तर, यसपल्टको चुनाव उनका लागि फरक छ।
उनी बेगुसरयामा महिलामाझ धेरै समय बिताइरहेकी छन्। दीपा भन्छिन्, ‘हामीले जातीय ‘गोलबन्दी’लाई ब्रेक गरिसकेका छौं। हामी महिलालाई सोधिरहेका छौं, शौचालय कहाँ छ? ग्याँस सिलिन्डर कहाँ छ? अस्पताल कहाँ छ? हामी स्कुल, कलेज, अस्पताल र रोजगारीका बारेमा सोध्छौं। यी समस्याबाट कुनै एक जाति पीडित छैन। कन्हैयासँग आशा छ। त्यसैले कलेजबाट छुट्टी लिएर आएकी छु। परिवर्तनको सुरुवात कहीँ न कहीँबाट त हुनुपर्छ। मलाई लाग्छ, बेगुसरायबाट हुन्छ। त्यसैले यहाँ आएकी हुँ।’
दीपाका अनुसार उनी घुम्दा जे महसुस गरिरहेकी छिन्, त्यही बताइरहेकी छिन्। उनले भनिन्, ‘चुनावी नतिजा नै बताउला हाम्रो कोशिस कति सफल हुन्छ। म यहाँका मुखियासँग भेट्छु त उनीहरु यस्तो चुनाव बेगुसरायमा कहिल्यै नभएको बताउँछन्। किनकि यसअघि चुनाव जातीय एकताका वरिपरि हुन्थे।’
राजस्थानकी आकांक्षा पछिल्लो एक महिनादेखि बेगुसरायमा छिन्। आकांक्षा यसभन्दा पहिला यहाँ बिहारका आफ्ना साथीको विवाहमा आएकी थिइन्। ‘आज जोकसैलाई देशद्रोहीको टीका लगाइदिइ राखिएको छ। अचानक तपाईंको घरको बच्चालाई कसैले आतंकवादी भन्न थाल्यो भने कस्तो लाग्ला?’, आकांक्षा प्रश्न गर्छिन्।
यहाँ कोही पनि ‘इलेक्सन टुरिजमका’ लागि नआएको बताउँछिन्। भन्छिन्, ‘भारतका युवाहरु धेरै कुरामा परिवर्तन ल्याउन चाहन्छन्। उनीहरुले त्यसका लागि ठाउँ पाइरहेका छैनन्। बेगुसरायमा त्यही अभिव्यक्त भइरहेको छ।’
आकांक्षालाई सोधियो– एक महिनादेखि बेगुसरायमा हुनुहुन्छ। तपाईंका परिवार रिसाएका छैनन् त?

उनको उत्तर थियो, ‘उनीहरुलाई थाहा छ कि म के गरिरहेकी छु। र, म जे गर्छु, त्यसको फैसला परिवारले लिँदैन। परिवारका सदस्य सधैं सही नहुन सक्छन्।’
राजस्थानकै २९ वर्षीया सोनम मार्च २९ देखि बेगुसरायमा छिन् । उनी भन्छिन्, ‘मलाई बिहार निकै मन परिरहेको छ। म चाहन्छु कि गैह्र-बिहारीहरु यहाँ आाएर यहाँका मान्छे कति परिश्रमी छन् भन्ने थाहा पाउनुपर्छ।’
सोनमका अनुसार गाउँका मान्छेहरु उनीहरुका कुरासँग सहमत छन् र आफ्ना दुःख उनीहरुसँग बाँडिरहेका छन्। मोदी विरोधी कुनै माहोल नदेखेकाे बताउने साेनमले विपक्षीको खालीपन भने देखेकी छिन्। त्यही विपक्षीको खालीपन भर्न कन्हैयाले जित्नुपर्ने उनकाे तर्क छ। प्रधानमन्त्रीको कुर्सीका लागि कन्हैया चुनाव नलडेको उनकाे मत छ।
सबै युवतीहरु शनिबार राति फिर्ता भए। फिर्ता हुनुअघि सोनमलाई सोधियो– बिहारको कुन कुराले सधैं याद दिलाइरहनेछ?
उनको उत्तर थियो, ‘बिहारका ती मान्छे, जो हड्डी खिइनेगरी परिश्रम गर्छन्। तर, धेरै केही प्राप्त गरिरहेका छैनन्। तरपनि आशाको सुरुवात यहीँबाट गर्छन्।’
(बिबिसी हिन्दीका लागि रजनीश कुमारले गरेको रिपोर्टिङको नेपाली अनुवाद )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।