काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले प्रतिनिधि सभालाई आपसी कटाक्ष र आरोप-प्रत्यारोपको माध्यमका रूपमा प्रयोग नगर्न आग्रह गरेका छन्।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संसदीय अभ्यासलाई घोचपेच केन्द्रित गतिविधिबाट टाढा राख्नुपर्ने धारणा व्यक्त गरे। उनका अनुसार संसद जनहितका विषयमा छलफल गर्ने थलो भएकाले यसको गरिमा कायम राख्न सबै पक्ष जिम्मेवार हुन आवश्यक छ।
सिंहले आफ्नो दल सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, दीर्घकालीन विकास तथा राष्ट्र निर्माणका एजेन्डामा अन्य राजनीतिक शक्तिसँग सहकार्य गर्दै अघि बढ्न तयार रहेको बताए।
त्यसैगरी उनले लामो समयदेखि नागरिकले अपेक्षित प्रतिफल नपाएको उल्लेख गर्दै राज्य संयन्त्रलाई जनताप्रति उत्तरदायी बनाउनुपर्ने आवश्यकता औँल्याए। विकास, सुशासन र भ्रष्टाचारमुक्त प्रणाली नै जनताको मुख्य माग भएको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।