काठमाडौं– राप्रपाकी सांसद खुस्बु ओलीले उपसभामुखमा भएको सहमति सत्तारुढ दल रास्वपाले लत्त्याएको दाबी गरेकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाले अविश्वास पैदा गरेको बताइन्। उनले आज आफूहरूले पदको नभई आचारमा प्रश्न उठाएको बताइन्। उनले नयाँको सिन्डिकेट लागु गर्न खोजिएको हो ? भन्दै प्रश्न गरिन्।
उनले भनिन्, ‘सदन भित्रका प्रतिपक्षका नेताहरूले आफ्ना सामाजिक सञ्जालमा यो चुनाव हुनुभन्दा केही दिन अगाडि लेख्नुभयो हामी पनि उम्मेदवारी दिन्छौँ, हेरौँ नयाँले नयाँलाई साथ दिन्छ कि पुरानालाई । अब मलाई बताइदिनुस् म नयाँ हो कि म पुरानो हो? म अघिल्लो निर्वाचनमा पनि यहाँ धेरै साथीहरूसँगै थिएँ, यो निर्वाचनमा पनि छु। म नयाँ हो कि पुरानो हो त? हिजो हामीले जुन राजनीतिक संस्कार सिन्डिकेटको राजनीतिक संस्कारको विरोध गरेर यो नयाँ युगमा प्रवेश गर्दा गर्दै के आज यो सदनले फेरि पनि नयाँ नयाँको सिन्डिकेट स्थापित गर्न खोजेको हो भने हामीलाई लोगो बनाइदिनुस्।’
उपसभामुख पद आफूहरूको लागि प्राथमिकताको विषय नभएको बताइन् ।
उनले भनिन्, ‘हामीले हिजो दिएको उम्मेदवारी कुनै पद प्रतिको तृष्णा थिएन। यो यसैपनि प्रतिपक्षको अधिकार नै थियो र राष्ट्रिय स्वतन्त्र पार्टीसँगको समझदारी पछि नयाँ ऊर्जा र प्रतिपक्षमै रहेर भएपनि सहकार्यको सम्भावनामा सकारात्मक भएर राप्रपा अगाडि बढेको हो। यो संविधानले प्रतिपक्षलाई निहित गरेको पदको मात्र प्रश्न होइन। यो राजनीतिक आचरण र विश्वसनीयताको पनि परीक्षण थियो। राजनीतिक संस्कारको पनि परीक्षण थियो, जसमा सत्तारुढ दलले आफूलाई असफल साबित गरेको छ।’
सहकार्यको आधार विश्वास भएपनि रास्वपाले अविश्वासको वातावरण बनाएको बताइन्।
उनले यस्तो खालको अविश्वास र धोका अब सदनमा नदोहोरियोस् भन्ने आफूहरूले चाहेको बताउँदै भनिन्, 'केही छैन । राप्रपाले रास्वपालाई माफी गरिदिनेछ ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।